पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन योजना बनाउनेलाई कारबाही हुनुपर्छ : राजकिशोर यादव

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन्। शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति यादवले यस्तो बताएका हुन्।

उनले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालिन योजनाबिना विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको बताएका हुन्। उनले बिनायोजना विमानस्थलमा अर्बौं लगानी गराउनेहरू विमानस्थल चलेन भनेर उम्कन नपाउने उल्लेख गरे।

सभापति यादवले योजना बनाउने सबै जना कारबाहीको भागीदार हुनुपर्ने बताए। उनले कुनै पनि लगानी बिनालक्ष्य, बिनाउद्देश्य र बिनाबिजनेस गर्न नहुने बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलजस्तो दीर्घकालीन परियोजना हचुवाको भरमा बनाउनुको पछाडि स्वार्थ रहेको भन्दै उनले समितिले अध्ययन गर्ने बताए।

उनले पोखरा विमानस्थलको सम्पूर्ण फाइलहरू समितिले मगाएको भन्दै फाइलहरूको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गरिने बताए।

उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले समेत बिजनेस गर्न नसकेको बताए। उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई देखाएर निजगढ विमानस्थल बनाउन नदिने खेल भइरहेको बताए।

उनले विकासविरोधी र मधेसविरोधी चिन्तन भएकाहरू काठमाडौंको पाँचतारे होटलमा बसेर निजगढ विमानस्थल बनाउन नहुने बहस गरिरहेको बताए।

उनले नेपालको हवाई उडान क्षेत्रको विकास गर्न सके मुलुकको जीडीपीमा सबैभन्दा बढी योगदान दिन सक्ने बताए। उनले नेपाललाई आर्थिक रूपमा समृद्ध, अन्तर्राष्ट्रिय रूपमा सम्मानजनक ब्राण्डिङ र बेरोजगारीको समस्या समाधान गर्नका लागि हवाई क्षेत्रमा विकास गर्न जरूरी रहेको बताए।

उनले नेपाली हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयू) को कालोसूचीबाट हट्न नसकेकोप्रति दुःख व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर