बालकुमारी घटना

ईपीएस कोरिया शाखा प्रमुख, सुरक्षा कमाण्डर डीएसपी र मन्त्रीका पीएसओ निलम्बित

ललितपुरका एसएसपी प्रहरी हेडक्वार्टर र सीडीओ गृह मन्त्रालय तानिए

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार कोरियन भाषा प्रशिक्षार्थीले गरेको प्रदर्शनका क्रममा मानवीय क्षति हुने गरी भएको घटनामा कमजोरी औंल्याउँदै जिम्मेवार अधिकारीहरूलाई निलम्बनका साथै केहीको जिम्मेवारी हेरफेर गरेको छ ।

गृह मन्त्रालयका अनुसार ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदी, घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका व्यक्तिगत सुरक्षा अधिकृत ( पीएसओ) प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरिएको छ ।

यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रूद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय तान्ने निर्णय भएको छ ।

शुक्रबार बालकुमारीमा भएको सो घटनामा दुई युवक ज्यान गएको थियो । उक्त घटनामा परी दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको निधन भएको थियो ।

सरकारले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप प्रतिपरिवार १०/१० लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

घटनामा घाइते भएकाको उपचारको प्रबन्ध पनि सरकारले मिलाउने भएको छ । घाइतेको उपचारका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । साथै सरकारले शान्तिसुरक्षा कायम गर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर