‘ग्राउण्ड ह्याण्डलिङ’ को विषयमा कर्मचारीहरूले अनावश्यक चासो राखे : मन्त्री किराती

'कर्मचारीको नीतिगत भाषण सुन्दा प्रधानमन्त्री पो हुन् कि भनेर झुक्किएँ'

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको ‘ग्राउण्ड ह्याण्डलिङ’ को विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री किरातीले ग्राउण्ड ह्याण्डलिङको विषयमा कर्मचारीहरूले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीहरूले अनावश्यक कोकोहोलो गर्नु आवश्यक नभएको बताए।

उनले ग्राउण्ड ह्याण्डलिङको कुरा प्रधानमन्त्री र देशका ठूला राजनीतिक दलहरूको सरोकारको विषय भएको भन्दै कर्मचारीलाई यस विषयमा नबोल्न निर्देशन दिएका हुन्।

उनले देशलाई वायुसेवा निगम चाहिने र त्यसलाई बचाउनका लागि ग्राउण्ड ह्याण्डलिङ पनि चाहिने स्पष्ट पारे। कर्मचारीले यस विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किरातीले कुरा उठाएमा राम्रो नहुने चेतावनीसमेत दिए।

मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरूमाथि समेत खनिए। उनले कर्मचारीहरूले धेरै नीतिगत कुरा गरेको भन्दै भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भनेर व्यंग्य गरे।

उनले नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरूले गर्ने भन्दै नेतृत्वले बनाएको नीतिमा कर्मचारीहरू हिँड्नुपर्ने बताए। उनले कर्मचारीहरूलाई आफ्नो परिधिभित्र बस्न र नीतिमाथि हस्तक्षेप नगर्न दिर्नेशनसमेत दिए।

‘नीतिको प्रश्न धेरै उठाउनुभयो। लामो भाषण गर्नुभयो। म त झुक्किएँ पनि, प्रधानमन्त्री पो आएर बोल्नुहुँदो रहेछ (भनेर),’ उनले भने, ‘पटक-पटक उहाँलाई हेरेँ। तर उहाँ त प्रधानमन्त्री होइन। नीतिको कुरा प्रधानमन्त्री, मन्त्री नेतृत्वले चिन्ता गर्छ।’

मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनवटा तत्कालीन कार्याभार रहेको बताए। उनले यात्रुहरूको सुरक्षा गर्नु पहिलो कार्यभार रहेको उल्लेख गर्दै युराेपियन युनियन (ईयू) ले पठाएको कालोसूचीबाट हटाउन सुधार गर्नुपर्ने १२ बुँदा अक्षरशः पालना गर्नुपर्ने दोस्रो कार्यभार रहेको बताए।

त्यस्तै यात्रुमैत्री वातावरण बनाउनु तेस्रो कार्यभार रहेको उनको भनाइ छ। एनले न्यूनतम स्रोत साधनको उच्चतम प्रयोग गरेर विमानस्थललाई राम्रो बनाउनुपर्ने बताए।

मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढको विमानस्थल पीपीपी मोडलमा सञ्चालन गरिने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *