रिहा भएपछि सीके राउतले भने- सरकारले मधेसीहरूलाई रंगभेद गर्‍याे

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरूलाई रंगभेद गरेको आरोप लगाएका छन्।

सोमबार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेका उनले प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले आफूहरूले निषेधित क्षेत्र नतोडेको बरू कला परिषद्बाटै प्रहरीले आफूहरूलाई धरपकड गरेको बताए। उनले मन्त्री र सांसदलाई जुनसुकै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला भन्दै प्रश्नसमेत गरे।

उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा छलफलका लागि प्रस्तावका रूपमा लैजाने बताए। उनले मधेसी मूलकी मन्त्री भएकै कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरिएको बताए।

उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ भन्दै प्रश्न गरे। मधेसी मूलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन उनले चुनौती दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर