प्रधानाध्यापक र विव्यस अध्यक्षविरूद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

बाँकेको नरैनापुर गाउँपालिका वडा नं. २ स्थित मदरसा दारूल उलूम अमजदिया बरकातियाकाका पूर्वप्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षविरूद्ध भ्रष्टाचार मुुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रअ कलिम अहमद जोलाह र विव्यस अध्यक्ष बदरूददुजा खाँविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनीहरूले आपसी मिलेमतोमा विभिन्न आर्थिक वर्षमा तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तकलगायतका शीर्षकमा साविक जिल्ला शिक्षा कार्यालय, बाँकेबाट निकासा भएको रकम सम्बन्धित शीर्षकमा खर्च नगरी हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएको हो।

उनीहरूले १८ लाख ३ हजार ७४१ रूपैयाँ हिनामिना गरेकाे अभियाेग छ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट आव २०७०/०७१ देखि आव २०७४/०७५ सम्म शिक्षक तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको तथा मदरसाका तत्कालीन प्रधानाध्यापक जोलाहको नाममा लेखापरीक्षण प्रतिवेदनले पेश्की बेरूजु औंल्याएको रकमसमेत सम्बन्धित शीर्षकमा खर्च नगरी प्रधानाध्यापक जोलाहले विव्यस अध्यक्ष खाँसँग मिलेर रकम हिनामिना गरेको आरोप छ।

उनीहरूविरूद्ध हिनामिना भएको रकम बराबर बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारणअनुसार कैद, बिगो असुलउपर र जरिवानाको मागदाबी लिएर मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *