१७ औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले दियो छात्राहरूलाई छात्रवृत्ति

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रमअन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

यी छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ ।

यस कार्यक्रमअन्तर्गत बैैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरू छनोट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रूपैयाँका दरले छात्रवृत्ति प्रदान गर्नेछ ।

यो कार्यक्रमअन्तर्गत बैंकले अहिलेसम्म १०५ जनालाई उक्त छात्रवृत्ति व्यवस्था गरी छात्राहरूको शिक्षामा योगदान गरिरहेको छ ।

समाजको विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरू आर्थिक रूपमा सबल हुनसमेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरूलाई न्यूनतम विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर