गाजा युद्ध सन् २०२४ भर जारी रहने इजरायली सेनाको चेतावनी

गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकु समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजरायलले हमासविरूद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी दिएको छ ।

इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हमास शासित गाजामा पुनः गोलाबारी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजापट्टीमा ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ । घेरामा परेको गाजापट्टीमा २० वर्षीय हमदान अबु अरबले सन् २०२४ अझ राम्रो हुने आशा व्यक्त गरे ।

इजरायलले हमासलाई ध्वस्त पार्ने वाचा गरेको छ र दण्डात्मक आक्रमण सुरू गरेको छ । यसले गाजाको विशाल क्षेत्रलाई भग्नावशेषमा परिणत गरेको छ । इजरायली हमलामा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २१ हजार आठ सय २२ जना मारिएका छन् । इजरायली सेनाका अनुसार गाजाभित्र इस्लामिक लडाकु समूह हमासविरूद्धको युद्धमा उसका एक सय ७२ सैनिक मारिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शनिबार हमासको अन्त्य र बन्धकलाई फिर्ता नगरेसम्म युद्ध धेरै महिनासम्म चल्ने चेतावनी दिएका थिए ।

युद्धको सुरूआतमा इजरायलले घेराबन्दी गरेपछि गाजाबासीहरूले खाद्यान्न, पानी, इन्धन र औषधिको चरम अभावको सामना गर्नु परिरहेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी नागरिकको ‘महामानवीय पीडा’ र ‘सामूहिक सजाय’ को निन्दा गरेका छन् । त्यस्तै विश्व स्वास्थ्य सङ्गठनले भोक र सङ्क्रामक रोगको चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर