एडीबीले माल्दिभ्सलाई पाँच करोड पाँच लाख अमेरिकी डलर सहयोग गर्ने

एसियाली विकास बैङ्क (एडीबी) र माल्दिभ्सबीच माल्दिभ्समा नवीकरणीय ऊर्जा उत्पादन र वितरण विस्तारका लागि पाँच करोड पाँच लाख अमेरिकी डलरसम्मको ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापछि माल्दिभ्सका लागि एडीबीका उपमहानिर्देशक सिन्डी माल्भिसिनीले भने, ‘यो परियोजना माल्दिभ्सको ऊर्जा सुरक्षा बढाउन र ऊर्जा क्षेत्रको दिगो रूपान्तरणलाई सहज तुल्याउन तयार गरिएको कार्यक्रम हो ।’

माल्दिभ्सका अर्थमन्त्री मोहम्मद शफीकले भने, ‘विशेष गरी ऊर्जा, यातायात, पानी र शहरी पूर्वाधार र सार्वजनिक क्षेत्रको व्यवस्थापनको क्षेत्रमा बैङ्क माल्दिभ्समा महत्त्वपूर्ण विकास साझेदार रहेको छ ।’

शफीकले भने, ‘नवीकरणीय ऊर्जा क्षेत्रको विस्तार गर्ने हाम्रो यात्राप्रति बैङ्क र अन्य साझेदारको प्रतिबद्धता देखेर म पनि हर्षित छु ।’

कार्यक्रमअन्तर्गत समुद्रमा आधारित फ्लोटिङ सोलार प्यानल, सामुद्रिक ऊर्जा उपकरण, साना एअर टर्बाइन र फ्लो ब्याट्रीजस्ता उदीयमान प्रविधिहरू स्थापना गरिने एडीबीले जनाएको छ ।

एडीबीको सहयोगमा एसियाली विकास कोषबाट चार करोड १५ लाख डलर, साधारण पुँजीगत स्रोतबाट ८५ लाख डलर सहुलियतपूर्ण ऋण र जलवायु परिवर्तन कोषबाट पाँच लाख डलर अनुदान रहेको बैङ्कले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *