सत्ता गठनबन्धन बैठकमा प्रधानमन्त्रीले भने- ओलीले राष्ट्रियसभामा एमालेलाई ‘जिरो’ नबनाउनुस् भन्नुभएको छ

राष्ट्रियसभा निर्वाचनमा सिट संख्या बाँडफाँटका विषयमा बोलाइएको सत्तारूढ गठबन्धन दलहरूको बैठक बिनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपराह्न बोलाएको बैठक निष्कर्षविहिन बनेको हो ।

बैठकमा प्रधानमन्त्री दाहालले नेकपा (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियसभामा आफ्नो पार्टीलाई शून्य नबनाउन आग्रह गरेको कुरा प्रस्तुत गरेको र त्यसमा एमालेबाट ठोस प्रस्ताव आए छलफल गर्न सकिने कुरा पनि भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

सो विषयमा सत्तारूढ दलहरूबीच कुनै सहमति नभएकाले भोलि (बिहीबार) बिहान ९ बजे पुनः बैठक बस्ने सहमति गरिएको पनि उनले बताए ।

बैठकमा प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालमा हुन लागेको भ्रमण र त्यसमा नेपाल सरकारले गर्ने छलफलको एजेण्डाका बारेमा पनि बिफ्रिङ गरेका थिए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरू बैठकमा सहभागी थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर