सर्लाहीको बरहथवामा विरोध प्रदर्शनका क्रममा युवकको मृत्यु, भोलि बिहानसम्म निषेधाज्ञा जारी

६ प्रहरीसहित ८ जना घाइते

बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद  विरोध प्रदर्शनमा परिणत  हुँदा  बरहथवा-६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ ।
प्रदर्शनकारीले बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाका अनुसार प्रदर्शनका क्रममा भएकाे झडपमा ६ जना प्रहरी र दुई जना स्थानीय घाइते भएका छन् ।
जिल्लामा शान्ति सुव्यवस्थाको स्थिति बिग्रँदै गएपछि स्थानीय प्रशासनले बरहथवामा निषेधाज्ञा जारी गरेको छ । आज अपराह्न ५:३० बजेदेखि लागू गरिएको निषेधाज्ञा भोलि बिहान ८:०० बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर जनाएको छ ।
बरहथवा नगरपालिका-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको हो ।
बरहथवा नगरपालिकाको नगर कार्यपालिकाको बैठकले केही समयअघि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गरी ५० बेडको अस्पतालमा रूपान्तरण गर्न प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
अहिले सोही निर्णयबाट नगरप्रमुख कटुवालसहित बहुमत सदस्य पछि हटेका कारण नेपाली कांग्रेसलगायत दलका जनप्रतिनिधि  निर्णय कार्यान्वयन हुनुपर्ने अडान नछाडेपछि आन्दोलन चर्किएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर