सर्वसाधारणको सवा २ अर्ब ठगेर फरार भएका मेयरलाई ‘प्रहरीकै संरक्षण’

सर्वसाधारणको करिब सवा दुई अर्ब रूपैयाँ ठगी गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली राजनीतिक तथा प्रहरी प्रशासनको संरक्षण हुँदा पक्राउ परेका छैनन्।

इमेज बचत तथा ऋण सहकारी संस्थामा पोखरा र बागलुङका बचतकर्ताले राखेको २ अर्ब २५ करोड रूपैयाँ ठगी गरेको आरोप नेपालीमाथि छ। राजनीतिक पहुँचका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न आलटाल गरेको पीडितको गुनासो छ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नेपालीले बागलुङमा करिब १५ सय जनाको १ अर्ब ६० करोड रूपैयाँ र पोखरामा ५ सय २४ जनाको ६४ करोड ८८ लाख रूपैयाँ हिनामिना गरेको उजुरी परेको थियो। उजुरी परेपछि नेपालीसहित ११ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो।

इमेज बचत तथा ऋण सहकारीमा बचतकर्ताले राखेको २ अर्ब २४ करोड ८८ लाख रूपैयाँ हिनामिना गरेको आरोपमा नेपालीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि राजनीतिक संरक्षणका कारण प्रहरीले पक्राउ नगरेको पीडितको गुनासो छ।

प्रहरीसँगकै मिलेमतोमा नेपाली फरार भएको पीडितको अनुमान छ। एमालेबाट नगरप्रमुख जितेका नेपालीको शीर्ष नेताहरूसँग राम्रो सम्बन्ध भएकै कारण प्रहरी प्रभावित भएको आरोप छ। एमालेले भने नेपालीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ।

साढे आठ महिनादेखि फरार नेपालीलाई प्रहरीले पक्राउ गर्न बेवास्ता गरेको पीडितको गुनासो छ। ‘प्रहरीले आज समात्छौं, भोलि समात्छौं भनेको आठ महिना बित्यो,’ इमेज बचत तथा ऋण सहकारी पीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले भने, ‘नेपाली फेसबुकबाट लाइभमा आएको सूचना पाउँदा पनि प्रहरीले हामीसँग प्रविधि छैन भनेर पक्राउ गरेको छैन।’

मुलुकमा न्याय पाउने वातावरण नभएको भन्दै पीडित आक्रोशित छन्। ‘एक जनप्रतिनिधि बचतकर्ताको अर्बौं रूपैयाँ ठगेर फरार हुँदा पनि प्रहरी, प्रशासन मूकदर्शक भएर बसेका छन्,’ कार्कीले भने, ‘मुलुकमा न्याय पाइँदो रहेनछ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर