राष्ट्रियसभा निर्वाचनमा यी हुन् एमालेका १९ उम्मेदवार

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका १९ वटै सिटमा उम्मेदवारको टुंगो लगाएको छ ।

एमालेका महासचिव शंकर पोखरेलका अनुसार सात प्रदेशका १९ सिटमै उम्मेदवारको टुंगो लगाइएको हो ।

बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ ।

अपांगतातर्फ विवेक देवकोटा उम्मेदवार बन्ने भएका छन् । काठमाडौंका देवकोटा एमालेको युवा संघमा आबद्ध थिए । उनले युथ फोर्समा सक्रिय रहेका बेला माओवादीसम्बद्ध योङ कम्युनिष्ट लिगले आक्रमण गर्दा खुट्टा गुमाउन पुगेको एमालेले बताएको छ ।

यस्तै अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार बन्ने भएका छन् ।

कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट उम्मेदवार बन्ने भएका छन् ।

दलिततर्फ दैलेखका हिक्मत विश्वकर्मा र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको छ ।

सुदूरपश्चिम प्रदेशमा महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपांगतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको छ ।

गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट स्याङ्जाका चक्रबहादुर पराजुली उम्मेदवार बन्ने भएका छन् । पहिले यही क्लस्टरबाट राष्ट्रियसभा सदस्य हुँदै अध्यक्ष भएका गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिँदै छ ।

गण्डकीकै अपांगता/अल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार बन्ने भएका छन् ।

कोशी प्रदेशमा अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी कोइराला उम्मेदवार बन्ने भएका छन् ।

लुम्बिनी प्रदेशमा अन्य समूहबाट पाल्पाका झपेन्द्रबहादुर बीसी र महिलातर्फ तुलसाकुमारी केसी उम्मेदवार बन्ने भएका छन् ।

मधेस प्रदेशमा अन्य समूहबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा चौधरी उम्मेदवार बन्ने भएका छन् ।

शुक्रबार बसेको एमालेको २६ औं सचिवालय बैठकले उम्मेदवारीको अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्नुपर्ने छ।

फागुन २० गते राष्ट्रियसभाका २० सांसदहरूको पदावधि सकिँदै छ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत माघ ११ गते निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन घटक दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनाव लड्दैछन् । सत्ता साझेदार दल नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्तिले भने भाग पाएका छैनन् ।

सत्ता गठबन्धनले निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २, जनता समाजवादी पार्टीले १ सिट भागबन्डा गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर