सर्वसाधारणका लागि कहिलेदेखि खुल्ला ओलीले बनिनसक्दै अढाइ वर्षअघि नै उद्घाटन गरेको धरहरा ?

आगामी नयाँ वर्षदेखि धरहरा अवलोकन गर्न पाइने गरी निर्माण सम्पन्नताको तयारी भइरहेको छ । काठमाडौँको सुन्धारामा धरहरा निर्माणको काम सकिनै लागेकाले चैत मसान्तभित्रमा सम्पूर्ण काम सकेर वैशाखदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको हो । आगामी २०८१ वैशाख १ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुल्ने निर्माण कम्पनी रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर रमेश पौडेलले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमै हतार-हतार उद्घाटन गरेको धरहरा निर्माण अझै पनि सकिएको भने छैन । निर्माणको काम ९० प्रतिशत मात्रै भएको छ । जबकि ०७५ असोज १४ मा बनाउन सुरू गरिएको धरहराको निर्माण सकिने म्याद पाँच पटकसम्म थपिएको छ ।

सुरूमा ठेक्का सम्झौता अनुसार सकिनुपर्ने अवधि २०७७ असोज १४ थियो । तर आगामी चैत मसान्तसम्ममा पनि काम नसकिने हो कि भन्नेमा अझै अन्योलमा छ ।

६/६ महिनाको दरले म्याद थप गर्दै आए पनि यसको निर्माण कार्यमा स्थानीयको रोक तोक, निर्माण कम्पनीको कमजोरी तथा भूकम्पका कारण काम रोकिएको जस्ता अनेक बनिरहेका छन् । यस धरहरा निर्माणको ठेक्का जीआईईटीसी-रमण जेभीले पाएको हो । धरहरा निर्माणका लागी ३ अर्ब ४८ करोड १६ लाख रूपैयाँ ठेक्का मा उक्त कम्पनीलाई दिइएको हो । अहिलेसम्म २ अर्ब भन्दा बढी रकम भुक्तानी भइसकेको छ ।

२०७८ वैशाख ११ मै उद्घाटन भइसकेको भए तापनि धरहरा सर्वसाधारणका लागि भने अझै पनि खुल्ला भएको छैन । निकै फुर्ती र तामझामका साथ तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दा समग्रमा आयोजनाको काम ४० देखि ४५ प्रतिशत मात्रै सम्पन्न भएको थियो ।

काम ढिला हुनुको मुख्य कारण सुरूमा कोभिडको आतङ्क भएको ठेकेदार कम्पनीको दाबी छ । ‘काम पनि नगरेका होइनौँ, सुरूमा ठेक्का निकाल्दा पाँच रोपनी जग्गाभित्र निर्माणको काम उल्लेख थियो । पछि काम गर्दै जाँदा ४२ रोपनी पुर्‍याइदिए,’ आयोजनाका एक इन्जिनियरले भने ।

उनका ठाउँ थपिएपछि त्यसका लागि नक्सा, सामान, दक्ष जनशक्तिको व्यवस्थापन आदि साना-ठूला बाधाहरूले गर्दा पनि निर्माण ढिला हुन पुगेको हो ।

अहिले निर्माण भएको धरहरा दुई तल्ला अन्डरग्राउन्डसहित २२ तल्लाको छ । जसमा तीन तले छुट्टै अन्डरग्राउन्ड पार्किङको व्यवस्था छ । पार्किङमा चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिन्छ । पहिले ९ तले धरहरा अहिले २२ तले बनेको छ । जसको उचाइ भूमिगत तलासहित ९२ मिटर रहेको एक इन्जिनियरले जानकारी दिए ।

जमिनबाट गजुरसहित धरहरा भने ८३ मिटर छ । धरहराभित्र दुई वटा लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले मात्र यात्रा गर्न सक्नेछन्, अर्थात् लिफ्टको क्षमता ६८० किलो छ । लिफ्ट बाटा २० औँ तलासम्म जान सकिन्छ । २० तलासम्म पुग्न जम्मा ३७/३८ सेकेन्ड लाग्ने लिफ्ट अपरेटर अरविन यादवले जानकारी दिए । अहिले लिफ्ट हल्लिने समस्या भएकाले यसको मर्मतका लागि टिम बोलाइएको र २/३ दिनभित्रमा लिफ्ट हल्लिने समस्या हट्ने उनले बताए ।

‘लगभग ९० प्रतिशत काम सम्पन्न भयो । बाँकी रहेको काम त्यही फिनिसिङ, म्युजियममा मार्बल, फलसिलिङ, बिजुलीको काम मात्रै बाँकी छ । केही बाधा-अड्चन नआए चैतसम्ममास क्ने लक्ष्य छ,’ एक इन्जिनियरले भने ।

कहिले टाइममा निर्णय नदिने, कहिले नक्सा थप्नुपर्ने, कहिले सामनहरुको समस्याका कारण निर्माण लम्बिएको हो । ठुला सामानहरू चीन र भारतबाट ल्याउनुपर्ने हुँदा भन्सार बोर्डर गर्दा केही सामान ल्याउनै ३८ दिन जति लाग्ने हुँदा पनि काम मा ढिला भएको एक इन्जिनियरले जानकारी दिए ।

धरहरा अवलोकन गर्न नपाउँदा सर्वसाधारणहरू भने निराश छन् । धरहरा छेउमै रहेको पुलमा बसेर फोटो खिचेरै भए पनि चित्त बुझाइरहेका एक युवक भन्छन्, ‘अब नयाँ वर्षमा धरहरा चढेर नयाँ सालको सुरूवात गर्न मन छ ।’ निर्माण गर्न ढिला भए तापनि पक्की र दीर्घकालीन बने राम्रो हुने उनले बताए ।

‘धरहरा बन्नलाई पाँच वर्षभन्दा पनि बढी समय लागिसक्यो । नेपालीहरूले निकै प्रतीक्षा गरिसक्यौं तर पनि निर्माण सम्पन्न होला र अवलोकन गर्न पाइएला भनेर यतिका वर्ष कुर्नु पर्‍याे,’ एक युवक भन्छन् । आफूलाई धरहरा चढ्न र धरहराको टुप्पोमा पुगेर भिडियो र फोटो खिच्न हतार भएको एक युवती बताउँछिन् । तर नयाँ सालदेखि धरहरा चढ्न पाउने कुरामा भने उनी खुसी छिन् ।

स्रोत : रूपेश आचार्य/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर