भारतीय प्रधानमन्त्री मोदीप्रति ‘अपमानजनक’ टिप्पणी गर्ने माल्दिभ्सका तीन मन्त्री निलम्बित

माल्दिभ्स सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति विवादास्पद टिप्पणी गर्ने आफ्ना तीन मन्त्रीहरूलाई निलम्बन गरेको छ । यससँगै माल्दिभ्स सरकारले यो आफ्नो व्यक्तिगत विचार भएको र सरकारसँग यसको कुनै सरोकार नभएको पनि बताएको छ ।

स्थानीय सञ्चार माध्यमहरूलाई उद्धृत गर्दै माेदीप्रति अपमानजनक टिप्पणी गर्ने तीन मन्त्री निलम्बनमा परेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

रिपोर्टका अनुसार राष्ट्रपति मोहम्मद मुइज्जु सरकारले मन्त्रीत्रय मरियम शिउना, माल्शा र महजुम माजिदलाई निलम्बन गरेको हो । भारतीय प्रधानमन्त्री मोदीप्रतिको अपमानजक टिप्पणीपछि यी मन्त्रीहरूको माल्दिभ्समै चर्को विरोध भएको थियो ।

के हाे पूरा मामिला ?
भारतीय प्रधानमन्त्री मोदीको हालै लक्षद्वीप भ्रमणपछि माल्दिभ्सककी युवा सशक्तीकरण उपमन्त्री मरियम शिउनाले सामाजिक सञ्जालमा मोदीका बारे अपमानजनक टिप्पणी गरेकी थिइन् । यद्यपि उनले पछि आफ्नो उक्त पोष्ट हटाए पनि माल्दिभ्समा नै उनको टिप्पणीलाई लिएर प्रश्न उठ्न थाल्यो र यसले यति ठूलो रूप लिन थाल्यो कि माल्दिभ्स सरकारले मन्त्री मरियम शिउनाको टिप्पणीको निन्दा गर्‍याे ।

माल्दिभ्स सरकारले प्रधानमन्त्री मोदीको लक्षद्वीप भ्रमणको बारेमा मन्त्री मरियम शिउनाको टिप्पणीमा आफ्नो अडान स्पष्ट गर्दै एक विज्ञप्ति जारी गर्‍याे ।

प्रधानमन्त्री मोदीप्रतिको विवादास्पद टिप्पणीपछि भारतका पर्यटकले माल्दिभ्सको भ्रमण रद्द गर्न थाले र यो संख्या अहिले पनि तीव्र गतिमा बढिरहेको छ ।

गत हप्ता लक्षद्वीपको समुद्र तटमा मोदीको एक भिडियो सार्वजनिक भएपछि माल्दिभ्सका एक मन्त्री र केही अन्य नेताहरूले मोदीविरूद्ध अपमानजनक टिप्पणी गरेका थिए, जसविरूद्ध सोसल मिडियामा वातप्रतिवाद भएको हो ।

हटाइएको मन्त्री मरियम शिउनाको पोष्टमा प्रधानमन्त्री मोदीको हालैको लक्षद्वीप भ्रमणका तस्बिरहरू थिए। युवा सशक्तीकरण, सूचना तथा कला उपमन्त्री शिउनाले भारतीय प्रधानमन्त्री मोदीलाई ‘जोकर’ र ‘इजरायलको कठपुतली’ भनेकी थिइन् ।

माल्दिभ्सका मन्त्रीले भारतीय प्रधानमन्त्री मोदीको अपमान गरेपछि भारतीय पर्यटकले गरेको माल्दिभ्सका ८ हजारभन्दा बढी होटल बुकिङ र २ हजार ५ सय उडान टिकट रद्द भएकाे बताइएको छ । -एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर