एउटै व्यक्ति १८ वटा मुद्दामा भ्रष्टाचारी ठहर !

विशेष अदालतले गरेको एक फैसलाबाट एक विद्यालय निरीक्षकले कतिसम्म रकम हिनामिना गर्न सकेको भन्ने देखिएको छ। पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत विद्यालय निरीक्षक राजेश्वरप्रसाद चौरसिया एक्लैलाई आइतबार ठहर भएको १८ वटा भ्रष्टाचार मुद्दाले यस्तो देखाएको हो।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चौरसियालाई १८ वटा भिन्नाभिन्नै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। चौरसियाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका छुट्टाछुट्टै २० वटा मुद्दा दर्ता गरेको थियो। चौरसिया दुईवटामा सफाइ र बाँकी सबैमा दोषी ठहर भएका हुन्।

चौरसिया लगायत गाउँपालिकाको शिक्षा शाखामा कार्यरत व्यक्ति, फरकफरक विद्यालयका शिक्षकहरू पनि भ्रष्टाचार ठहरिएका छन्। चौरसियाले विभिन्न गाउँपालिकाका विद्यालयमा कैयौंलाई फर्जी नियुक्ति दिएर तलब निकासा गरी भ्रष्टाचार गरेको अदालतको फैसलामा उल्लेख छ।

त्यसैगरी विभिन्न विद्यालयका शिक्षक नियुक्तिमा सहजीकरण गरिदिने बहानामा परीक्षा नै नदिने व्यवस्था मिलाएर रकम हिनामिना गरेको पनि देखिएको छ। विभिन्न विद्यालयमा राहत, करार शिक्षक र बाल विकास सहयोगी नियुक्ति गर्दै अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विद्यालय निरीक्षक चौरसियामाथि आरोप लगाएको थियो। उनीविरुद्ध अख्तियारले लगाएको आरोप विशेष अदालतले ठहर गरेपछि साबित भएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ असोज १ देखि ६ सम्म चौरसियालगायत विरुद्ध मुद्दा दर्ता गरेको थियो। चौरसिया सबै मुद्दामा जोडिएका थिए। अन्यलाई लागेको मुद्दा भने फरकफरक छन्।

सहयोगी मतियारको भूमिका खेलेको भनेर पनि चौरसियाविरुद्ध मुद्दा दर्ता भएको थियो। विशेष अदालतले विभिन्न विद्यालयका शिक्षकहरूलाई फरकफरक कैद, बिगो र जरिवाना कायम गरेकोे छ। जसमध्ये जितेन्द्रप्रसाद कुर्मीलाई १ लाख ४६ हजार बिगो र त्यति नै जरिवानासँगै ६ महिना कैद ठहराएको छ।

फिरोज आलमलाई चार महिना कैद र ६६ हजार बिगो तथा उत्तिकै जरिवाना, हाकिम अन्सारीलाई ६ महिना कैद, १ लाख ६४ हजार बिगो र त्यति नै जरिवाना, लालबाबु साहलाई ६ महिना कैदसहित १ लाख ६५ हजार बिगो र उति नै जरिवाना तोकिएको छ।

त्यसैगरी वीरेन्द्र महरा चमारलाई ६ महिना कैद, १ लाख २ हजार बिगो र त्यति नै जरिवाना, बबिताकुमारी देवलाई ६ महिना कैदसँगै २ लाख १३ हजार बिगो र छुट्टै जरिवाना, आशाकुमारी रामलाई १ महिना कैद, १५ हजार बिगो र जरिवाना, रामविलासप्रसाद पटेललाई ६ महिना कैद, २ लाख ११ हजार बिगो र त्यति नै जरिवाना, हरिओमकुमार साहलाई ६ महिना कैद १ लाख ६० हजार जरिवाना र बिगो, उमाशंकर यादवलाई ६ महिना कैद १ लाख ५७ हजार जरिवाना र बिगो ठहर भएको छ।

त्यसैगरी चौरसियासँगैको मुद्दामा रुबी कुमारीलाई ३ महिना कैद २७ हजार जरिवाना र बिगो, रमेश शर्मालाई ६ महिना कैदसहित १ लाख ६१ हजार जरिवाना र बिगो, धर्मेन्द्र ठाकुर हजामलाई ६ महिना कैदसहित १ लाख ५७ हजार जरिवाना र बिगो, दुलारप्रसाद चन्द्र कुर्मीलाई ६ महिना कैदसहित १ लाख १८ हजार, शिवशंकरप्रसाद यादवलाई ६ महिना कैद, २ लाख ४३ हजार जरिवाना र बिगो, राजेशकुमार यादवलाई ६ महिना कैद र १ लाख ६५ हजार जरिवाना र बिगो, अरविन्द गिरीलाई ६ महिना कैदसहित १ लाख ६५ हजार, कृपादेवी पटेललाई ६ महिना कैदसहित ९२ हजार रूपैयाँ जरिवाना ठहर भएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *