१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म कुल १७ खर्ब ६७ अर्ब रूपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा १७ खर्ब ६७ अर्ब चार करोड रूपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत मङ्सिर मसान्तमा १३ दशमलव छ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ रहेकामा गत मङ्सिर मसान्तमा १५ दशमलव छ प्रतिशतले वृद्धि भई १५ खर्ब ५६ अर्ब २५ करोड रूपैयाँ पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रूपैयाँ रहेकामा गत मङ्सिर मसान्तमा आठ दशमलव नौ प्रतिशतले वृद्घि भई दुई खर्ब १० अर्ब ७९ करोड रूपैयाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार गत मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव छ प्रतिशत छ । चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलब एक महिनाको वस्तु आयात र ११ दशमलव आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर