प्रधानमन्त्री मोदीले गरे भारतको सबैभन्दा लामो समुद्री पुल उद्घाटन, के-के छन् खास विशेषता?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार मुम्बईमा देशकै सबैभन्दा लामो समुद्री पुल ‘अटल बिहारी वाजपेयी सेवरी-न्हावा शेवा अटल सेतु’ को उद्घाटन गरेका छन्।

मुम्बई ट्रान्स हार्बर लिंक (एमटीएचएल) लाई ‘अटल बिहारी वाजपेयी सेवरी-न्हावा शेवा अटल सेतु’ नाम दिइएको हो। मुम्बई ट्रान्स हार्बर लिंक मुम्बईको सेवरीबाट सुरू भई रायगढ जिल्लाको उरान तालुकको न्हावा शेवामा समाप्त हुन्छ।

भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीकाे स्मरणमा यो पुलको नामकरण गरिएको हो। यसलाई संक्षिप्तमा ‘अटल सेतु’ भनिएको छ।

प्रधानमन्त्री मोदीले डिसेम्बर २०१६ मा यस पुलको शिलान्यास गरेका थिए। यो पुल करिब २१.८ किलोमिटर लामो र ६ लेनको छ। १६.५ किलोमिटर समुद्रमा र ५.५ किलोमिटर जमिनमा बनाइएको छ। यो देशकै लामो पुल पनि हो।

करिब १८ हजार करोड भारतीय रूपैयाँको लागतमा निर्मित पुल उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री मोदीले भारतका लागि यो ऐतिहासिक दिन रहेको बताए। देशको विकासका लागि समुद्रसँग पनि लड्न सकिन्छ भन्ने उदाहरण यो पुल निर्माणको निर्णयले देखाएको उनले बताए।

यो पुल निर्माणसँगै यसअघि दुई घण्टा लाग्दै आएको मुम्बई-नवी मुम्बईबीचको यात्रा अब २० मिनेटमै पूरा गर्न सकिनेछ। अटल सेतुले मुम्बई अन्तर्राष्ट्रिय विमानस्थल र नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थललाई छोटो मार्गका रूपमा जोड्नेछ।

साथै यसले मुम्बईदेखि पुणे, गोवा र दक्षिण भारतको यात्रा समय पनि घटाउनेछ। यस्तै यात्रीको इन्धन लागत पनि घट्नेछ।

यसले मुम्बई बन्दरगाह र जवाहरलाल नेहरू बन्दरगाहबीचको कनेक्टिभिटी पनि सुधार गर्नेछ। अटल सेतु शुक्रबारदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ।

यो पुल सञ्चालनसँगै यसले जोड्ने क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस पुलमार्फत दैनिक लगभग ७० हजार सवारी साधन आवतजावत गर्ने अनुमान छ।

चालकहरूलाई अटल सेतुमा अधिकतम १०० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन चलाउन अनुमति दिइएको छ। यहाँ ठूला सवारी साधन, मोटरसाइकल, अटोरिक्शा र ट्र्याक्टरलाई भने आवतजावतको अनुमति हुने छैन।

यो पुल बनाउन कैयौं यस्ता प्रविधि प्रयोग गरिएको छ जुन भारतमा पहिलो पटक भएको हो। यहाँ मनसुनको समय उच्च गतिको हावा सहन गर्नका लागि विशेष प्रकारका ‘लाइटिङ पोल’ हरू डिजाइन गरिएको छ। चट्याङबाट हुने सम्भावित क्षतिबाट बच्न ‘लाइटिङ प्रोटेक्सन सिस्टम’ पनि जडान गरिएको छ।

-भारतीय सञ्चार माध्यमहरूको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर