ताइवान राष्ट्रपति चुनाव

ताइवानको राष्ट्रपति चुनावमा लाेकप्रिय मतसहित चीनविरोधी उम्मेदवार विलियम लाइ विजयी

लाइको जितले ताइवान-चीन सम्बन्धमा कस्तो अर्थ राख्छ?

ताइवानको आमनिर्वाचनमा चीनको कट्टर विरोधी मानिने सत्तारूढ दल डेमोक्य्राटिक प्रोगेसिभ पार्टी (डीपीपी) का उम्मेदवार विलियम लाइ विजयी भएका छन्।

लाइ हाल ताइवानको उपराष्ट्रपति छन् र अब राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्। डीपीपी सन् २०१६ देखि ताइवानको सत्तामा छ र यो पार्टीको लगातार तेस्रो ऐतिहासिक विजय हो।

स्थानीय समयअनुसार साँझ ७ः४५ बजेसम्म ९० प्रतिशतभन्दा बढी मतदान केन्द्रको मतगणनामा लाइले ५० लाखभन्दा बढी मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। साथै उनले ४० प्रतिशतभन्दा बढीकाे लाेकप्रिय मत प्राप्त गरेका हुन्।

उनका दुई प्रमुख प्रतिद्वन्द्वीहरू क्रमशः ३३ प्रतिशत र २२ प्रतिशत मत पाएर पराजित भए। यससँगै लाइले शनिवार साँझ विजय घोषणा गरे भने उनका दुई प्रमुख प्रतिद्वन्द्वी दुवैले हार स्वीकार गरे।

यस्तै हालै संयुक्त राज्य अमेरिकाका लागि ताइवानको शीर्ष राजदूतको रूपमा सेवा गरेका लाइका सहयात्री हसियाओ बि-खिम उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

चीनमा ताइवानको राष्ट्रपति चुनावलाई युद्ध र शान्तिबीचको छनोटका रूपमा लिइएको थियो। चीन डीपीपी र यसका उम्मेदवार लाइको कडा विरोधी हो।

चीनको ताइवान मामिला कार्यालयले बिहीवार मात्रै लाइलाई ‘जिद्दी’ को संज्ञा दिएको थियो। यस्तो अवस्थामा लाइको जितपछि ताइवान र चीनबीच तनाव बढ्ने सम्भावना औल्याइँदै छ।

चीनले चुनावअघि लाइलाई मतदान नगर्न पनि मतदाताहरूलाई चेतावनी दिएको थियो। चीनले ताइवानको विपक्षी दल कुओमिन्ताङ (केएमटी) का उम्मेदवारलाई समर्थन गरेको बताइन्छ।

लाइको जितपछि ताइवानका मतदाताहरूले चीनको चेतावनी र धम्कीलाई बेवास्ता गरेको विश्लेषण हुन थालेको छ।

जितपछि प्रतिक्रिया दिँदै लाइले चीनको धम्की र निरन्तरको खतराबाट ताइवानलाई बचाउन आफू प्रतिबद्ध रहेको बताए।

समर्थकहरूलाई सम्बोधन गर्दै लाइले आफ्नो जितलाई ‘लोकतन्त्रिक समुदायको विजय’ भने।

‘हामीले अन्तर्राष्ट्रिय समुदायलाई लोकतन्त्र र अधिनायकवादको बीचमा अझै पनि लोकतन्त्रको पक्षमा उभिने कुरा भनिरहेका छौं,’ उनले भने।

लाइले ताइवानी जनताले चुनावमा प्रभाव पार्ने बाहिरी शक्तिहरूको प्रयासलाई सफलतापूर्वक प्रतिरोध गरेको र ताइवानले लोकतन्त्रको पक्षमा चुनाव गरेको बताए।

उनको जितले स्वायत्त टापुलाई आफ्नो क्षेत्र मान्ने चीनलाई रिस उठ्ने टिप्पणी भइरहेको छ। ताइवानी जनता ताइवानलाई स्वतन्त्र देश मान्छन् तर चीनले ताइवान आफ्नो भूभाग रहेको दाबीसहित हस्तक्षेप गर्ने गरेको छ।

लाइले ताइवान स्ट्रेटमा शान्ति र स्थायित्व कायम राख्नु आफ्नो महत्त्वपूर्ण जिम्मेवारी भएको बताए। उनले आफ्नो सरकारले चीनसँगको विवाद वार्ताबाट समाधान गर्ने प्रयास गर्ने बताए।

-एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर