प्रधानमन्त्री कप क्रिकेट : एपीएफको दोस्रो जित, सुदूरपश्चिम र आर्मीको सुखद् सुरूआत

कप्तान रोहित पौडेलको सानदार प्रदर्शनमा एपिएफले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटमा दोस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लवले पनि सुखद् शुरुआत गरेका छन् ।

रोहितको तीन विकेटसँगै अर्धशतक प्रेरणामा एपिएफले सोमवार मुलपानी क्रिकेट मैदानमा कोसी प्रदेशमाथि ६ विकेटको जित निकाल्दा आर्मीले कीर्तिपुरमा मधेस प्रदेशलाई एक सय २६ रन र सुदूरपश्चिमले भैरहवामा लुम्बिनी प्रदेशलाई पाँच विकेटले हरायो । आइतवार वागमती प्रदेशलाई सहजै हराउँदै सुखद् शुरुआत गरेको एपिएफले दोस्रो दिन पनि आफ्नो लयलाई कायमै राख्यो । सोमवार एपिएफसँग पराजयसँगै कोसीले दोस्रो हार सामना गर्नुपर्‍याे । पहिलो खेलमा कोसीले मधेससँग हार व्यहोरेको थियो ।

मुलपानी क्रिकेट मैदानमा कोशीले दिएको एक सय ३६ रनको सामान्य लक्ष्य एपिएफले १९.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍याे । कप्तान रोहितले सर्वाधिक ८० रनको इनिङ खेल्दै अलराउण्ड प्रदर्शन गरे । ५३ बलमा उनले ९ चौका र तीन छक्का प्रहार गरे । प्रज्वल शाहीले २२ रन र सुमित महर्जनले अविजित २० रन बनाए । रोहितले दोस्रो विकेटका प्रज्वलसँग ७० रन र तेस्रो विकेटका लागि सुमितसँग ५० रनको साझेदारी गर्दै जितको आधार बनाए ।

कोशीको बलिङमा फिर्दोश अन्सारी, कमल खत्री, समीर कार्की र सोनु मण्डलले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोसी ४४.३ ओभरमा एक सय ३५ रनमै समेटियो । फिर्दोशले ८५ बलमा ५५ रनबाहेक अन्यले लामो इनिङ खेल्न सकेनन् । उनको इनिङमा आठ चौका रह्यो । एपिएफको बलिङमा अविनाश बोहोराले ८.३ ओभरमा तीन मेडनसहित तीन विकेट लिँदा १३ रन मात्र खर्चिए । कप्तान रोहितले पनि तीन नै लिए । अमरसिंह रौटेलाले दुई तथा भुवन कार्की र श्याम ढकालले समान एक विकेट निकालेपछि कोशी सस्तैमा रोकियो ।

सोमवार नै भएको अर्को खेलमा कप्तान विनोद भण्डारीले शतक बनाएपछि आर्मीले पनि मधेसमाथि फराकिलो जित निकाल्यो । टियु क्रिकेट मैदानमा आर्मीले दिएको तीन सय २१ रनको लक्ष्य पछ्याएको मधेस ४८.४ ओभरमा एक सय ९४ रनमा समेटियो । मधेसका लागि पवन सराफले ६५ रनबाहेक अन्यले लामो इनिङ खेल्न सकेनन् । उनले ८३ बलमा सात चौका र तीन छक्का प्रहार गरे । मायन यादवले ३४ रन, रुपेश सिंहले १८, विशाल पटेलले १८ रन, अनिल शाहले १२ रन र राजेश यादव ३२ रनमा नटआउट रहे पनि मधेसको फराकिलो हार टार्न सकेनन् ।

एपिएफका सहाब आलमले चार विकेट तथा सोमपाल कामीले दुई तथा जितेन्द्र मुखिया र कुशल मल्लले समान एक विकेट लिँदै मधेसको इनिङ सस्तैमा समेटे । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय २० रनको विशाल योगफल बनाएको थियो । कप्तान विनोदले ९३ बलमा एक सय १३ रनको सतकीय इनिङ खेले । उनको इनिङमा ९ चौका र दुई छक्का रह्यो । सन्तोष कार्कीले ४२, कुशल र विवेक यादवले समान ३७ रन, इमरान शेखले २६ रन जोड्दै आर्मीलाई विशाल योगफलतर्पm डोहोर्‍याए ।

पहिलो विकेटका लागि सन्तोष र इमराननले ५३ रनको इनिङ खेल्दै राम्रो शुरुवात दिलाए । त्यसपछि विनोदले पाँचौं विकेटका लागि कुशलसँग एक सय ३२ रनको साझेदारी गर्दै राम्रो स्थितिमा पुर्‍याए । मधेसको बलिङमा रञ्जित कुमारले ९ ओभरमा ४१ रन खर्चिदै पाँच विकेट लिएपनि आर्मीलाई विशाल योगफलबाट रोक्न सकेनन् । विशाल पटेलले दुई तथा राजेश यादव र रूपेश सिंहले समान एक विकेट लिए ।

सोमवार नै सुदूरपश्चिम प्रदेशले भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा घरेलु टोली लुम्बिनीलाई पाँच विकेटले स्तब्ध बनायो । लुम्बिनीले दिएको एक सय ५९ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २९.३ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍याे । सुदूरपश्चिमका लागि शेर मल्ल ४४ बल खेल्दै ४२ रनमा अविजित रहे । उनले चार चौका र दुई छक्का हिर्काए । नारायण जोशी २८ रनमा अविजित रहँदा खडक बोहराले २१ रन, टेक रावतले १८, किरण ठगुन्नाले १६ र नरेन भट्टले १२ रन बनाए ।

लुम्बिनीको बलिङमा अभिषेक गुरुङले तीन तथा कृष्ण कार्की र अजय चौहानले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४८.४ ओभरमा सबै विकेट गुमाउँदा एक सय ५८ रनको योगफलमा सिमित भयो । प्रज्वल थापाले ४२ रनबाहेक अन्य लामो समय क्रिजमा रहन सकेनन् । ६८ बलमा उनले चार चौका हिर्काए । मोहम्मद हुसेनले २६ र विराट भण्डारीले २३ रन जोडे ।

सुदूरपश्चिमको बलिङमा नारायण जोशीले तीन, भोजराज भट्ट र नरेन साउदले समान दुई तथा मिलन बोहराले एक विकेट लिँदै घरेलु टोलीलाई सस्तैमा रोके । पहिलो खेलमा गण्डकीलाई हराएको लुम्बिनी दोस्रो खेलमा भने पराजित भयो । कुल १० टोलीले प्रतिष्पर्धामा गरेको प्रतियोगिता राउण्ड रोविनको आधारमा भइरहेको छ । शीर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थान सम्मका टोलीले भने इलिट ट्रफी खेल्न पाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *