क्याम्पसको नवनिर्मित भवनमा गाईगोठ, अनियमितताकाे आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब

वीरगञ्जको एक मात्र समुदायिक क्याम्पस हरिखेतान बहुमुखी क्याम्पसको नवनिर्मित भवन निर्माणमा व्यापक आर्थिक अनियमितता भएको आरोप लागेको छ । क्याम्पसका निमित्त प्रमुखले पत्रकार सम्मेलन गरेर पूर्वक्याम्पस प्रमुखले भवन निर्माणमा आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् । पूर्वक्याम्पस प्रमुख भगवान् यादवले अनियमितता गरेका कारण क्याम्पसबाट ठेक्कापट्टाको फाइल नै गायब गरेको निमित्त क्याम्पस प्रमुख किशोरी रायको आरोप छ ।

गत पुस १ गतेदेखि क्याम्पसको निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका रायले वीरगञ्ज-३, आदर्शस्थित ८ कट्ठा क्षेत्रफल जग्गामा निर्मित १० कोठाको एकतल्ले भवन निर्माण सम्पन्न नहुँदै ठेकेदारलाई पूर्वक्याम्पस प्रमुख भगवान् यादवले सबै भुक्तानी दिएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा निमित्त क्याम्पस प्रमुख रायले २ करोड ७४ लाख रूपैयाँमा निर्माण गरिएको नयाँ भवनमा व्यापक आर्थिक भ्रष्टाचार गरेको आरोप लगाए ।

२०७६ सालमा सन्तोष निर्माण सेवाले इबिडिगमार्फत ठेक्का सकारेर निर्माण गरेको भवनको आधाभन्दा बढी काम अधुरै रहे पनि पूर्वक्याम्पस प्रमुख यादवले निर्माण कम्पनीलाई दुई वर्षअघि नै सम्झौताअनुसार पूर्ण भुक्तानी गरिसकेको बताए । यसबारेमा आवश्यक कारबाहीका लागि लेखा प्रमुख विनोद यादवसँग ठेक्कापट्टाको फाइल माग गर्दा उनले पूर्वप्रमुखले नै फाइल लिएको बताए । लेखा प्रमुख यादवले सबै रकम ठेकेदारलाई भुक्तानी गरिसकेको भन्दै मौखिक जवाफ दिएको रायले बताए ।

३८ वर्षदेखि क्याम्पस प्रमुखको रूपमा काम गर्दै आएका भगवान् यादवले व्यापक भ्रष्टाचार गरेका आरोपहरू उठ्न थालेपछि क्याम्पस सञ्चालक समितिले उनलाई अनिवार्य अवकाशका लागि दबाब दिएको थियो । प्रेमप्रकाश खेतान अध्यक्ष रहेको क्याम्पस सञ्चालक समितिको गत मङ्सिर ३० गते बसेको बैठकले यसअघिका क्याम्पस प्रमुख यादवलाई बर्खास्त गरेर पुस १ गतेदेखि निमित्त क्याम्पस प्रमुखमा रायलाई नियुक्त गरेको थियो । जबरजस्ती हटाएको विरोधमा पत्रकार सम्मेलन गरेर नै तत्कालीन क्याम्पस प्रमुख भगवान् यादवले विरोध जनाएका थिए ।

निर्माण कम्पनीसँग क्याम्पसले गरेको सम्झौतामा ठेक्का सम्झौता भएको दुई वर्षभित्रमा रङरोगनसहित भवन निर्माणको काम सबै सम्पन्न गरेर क्याम्पसलाई भवन हस्तान्तरण गर्ने र भुक्तानी गर्ने उल्लेख थियो । यसबारेमा पूर्वक्याम्पस प्रमुख भगवान् यादव र ठेकेदार सन्तोष पटेलको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

हरिखेतान क्याम्पसको अधुरो नवनिर्मित उक्त भवनमा अहिले स्थानीयले गाईगोठका रूपमा प्रयोग गर्न थालेका छन् । नवनिर्मित भवनमा पुग्दा बरन्डा छेउको कोठामा गाई बाँधेर राखिएको थियो भने बरन्डा परिसर गाईको गोबरले भरिएको थियो । भवनका अन्य कोठाहरूमा बजारबाट सङ्कलन गरिएका कवाडी भण्डारण गरिएको थियो ।

निमित्त क्याम्पस प्रमुख रायले भने अधुरो नवनिर्मित भवनमा राखिएका गाई र कवाडी सामानहरु अविलम्ब हटाइने बताए । भवन निर्माणमा गरिएका अनियमितताको कानुनी रूपमा टुङ्गो लागेपछि मात्र अधुरो काम पुरा गरेर भवनमा कक्षा सञ्चालन गरिने रायको भनाइ थियो ।

स्रोत : अनिल तिवारी, वीरगञ्ज/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *