श्रीमतीको निर्मम हत्यामा सर्वस्वसहित जन्मकैद तोकिएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

आफ्नै श्रीमतीको निर्मम तरिकाले हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका एक जना फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धादिङको ज्वालामुखी गाउँपालिका-१ का ७० वर्षीय सूर्यबहादुर दवाडीलाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार उनलाई सोमवार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१, बेलहियाबाट पक्राउ गरिएको हो।

उनले २८ फागुन, २०५९ मा अशंसम्बन्धी विषयमा झगडा हुँदा श्रीमती सानुमाया दवाडीको हत्या गरेको अभियोग छ।

प्रहरीका अनुसार उनले श्रीमती सानुमायालाई कुटपिटपछि नाम्लोले घाँटीमा कसेर रूखमा झुण्ड्याई हत्या गरेका थिए। हत्यापछि लासलाई धादिङको तत्कालीन मैदी गाउँ विकास समिति वडा नं. ९ स्थित ग्याल्मा र बूढीगण्डकीको दोभानमा लगेर जलाएका थिए।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा धादिङ जिल्ला अदालतले ५ जेठ, २०६१ मा उनलाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो।

जिल्ला अदालतको फैसलाविरूद्ध उनले तत्कालीन पुनरावेदन अदालत पाटनमा पुरावेदन गरेकामा पुनरावेदन अदालतले जिल्लाको फैसला बदर गरेको थियो। तर, सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गर्‍याे।

सोपछि फरार रहँदै आएका दवाडी भारतका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको र यहीबीच नेपाल प्रवेश गर्दै गरेको सूचना पाएपछि खटिएको सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप कारबाहीका लागि धदिङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर