चैतमा निफको सातौं संस्करण, ४० देशका ८८ फिल्म देखाइने

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको सातौं संस्करण हुन लागेको हो ।

संस्करणमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने बताइएको छ । ६० देशबाट प्राप्त ५ सय बढी चलचित्रबाट निफले सातौं संस्करणमा ४० देशका ८८ वटा फिल्म छानेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष केपी पाठकले बताए ।

उनका अनुसार छनोटमा परेका थुप्रै चलचित्रहरू कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । उनले फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने बताए ।

प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ ।

यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन् । मोफसलमा पहिलो संस्करण सम्पन्न गरेको निफले यो सालबाट एकै समयमा अन्य प्रदेशहरूमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरिरहेको अध्यक्ष पाठकले बताए ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने बताइएको छ । महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ ।

यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रूपैयाँ नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार रूपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ । सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *