सीमावर्ती क्षेत्रका निर्माणका समस्या बोकेर मुज्जपरपुर पुगे विमलेन्द्र निधि

पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुज्जपरपुरका लोकसभा सदस्य अजय निषादबीच शिष्टाचार भेटवार्ता भएको छ। भारतको मुज्जपरपुरमा दुई नेताबीच शिष्टाचार भेट भएको हो।

गत आइतवार धनुषाको नगराइन र मुखियापट्टी मुसहरनिया पालिकाका विभिन्न सीमावर्ती वडाहरूमा निर्माण कार्य अवरूद्ध भएका पुलहरूको स्थलगत निरीक्षण अवलोकन गरेका निधि सोही विषयमा छलफल गर्न मंगलवार निषाद निवास मुज्जपरपुर पुगेका थिए।

सो क्रममा निधिले आफूले पुलहरूको स्थलगत निरीक्षण गर्दा भारतीय सुरक्षाकर्मीहरूले संरचना बन्न नदिनुको कारणमाथिको आदेश भएको बताएको पनि निषादलाई जानकारी गराए। पुल बन्दा दुवै देशका नागरिकहरूलाई सहज हुने उनले बताए।

नो म्यान्स ल्याडमा पुल नबने दुई देशका जनतालाई कसरी जोड्ने र आवातजावत कसरी हुने भन्ने प्रश्न गर्दै निधिले आफूहरू नेपालको मात्र नभई सीमावर्ती भारततर्फका जनताको भावना पनि सुनाउन आएको बताए।

भेटमा भाजपाका नेतासमेत रहेका निषादले आफनो पार्टीको नेतृत्वमा केन्द्रीय सरकारसमेत रहेको बताउँदै गृहमन्त्री अमित शाहसँग कुरा गरेर समस्या समाधान गर्ने बताए। निषाद निवासमा राममन्दिर समुद्घाटनको बधाईपत्र र प्रसाद प्रदान गरिएको थियो।

नेपालको जटही र भारतको पिपरौन जोड्ने मुख्य जमुनी नदी राजघाटको पुललाई ६ लेन सडकस्तरको पुलका रूपमा स्तरोन्नतिका लागि भारतीय पक्षबाट भइरहेको अवरोध र नगराइन नगरपालिकाको वडा नं. ६, लगमालाई भारतको लहरनियासँग जोड्ने झोलुंगे पुलको समेत निधि नेतृत्वको टिमले अवलोकन गरेको थियो। ती पुलहरूको भारतीय अवरोधका कारण निर्माणमा अवरूद्ध भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *