टाइगर कप भलिबल : महिलातर्फ एपीएफलाई उपाधि

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले पोखरामा आयोजना भएको चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरूष क्लब च्याम्पियनसिप भलिबल’ को उपाधि चुमेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आज सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरि न्यूडायमण्ड क्लब काठमाडौँलाई सोझो सेटमा पराजित गरी साविक विजेतासमेत रहेको एपीएफ च्याम्पियन बनेको हो । यससँगै एपीएफले उपाधिमा ह्याट्रिक गर्न सफल भयो ।

उपाधिसँगै एपीएफले पाँच लाख ५५ हजार पाँच सय ५५ रूपैयाँ पुरस्कार प्राप्त गर्‍याे । उपविजेता बनेको न्यूडायमण्ले दुई लाख ५५ हजार पाँच सय ५५ रूपैयाँमा चित्त बुझायो । एपीएफले पहिलो सेटको खेल २५-२०, दोस्रो सेट २५-१८ र अन्तिम सेट २५-२१ ले डायमण्डलाई हराएको हो ।

विसं २०७७ देखि सञ्चालन भएको प्रतियोगितामा एपीएफले दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । पहिलो संस्करणमा महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पिन बनेको थियो । महिलातर्फ प्रतियोगितामा छ टोलीले सहभागिता जनाएका थिए ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि पोखरामा प्रतियोगिता सञ्चालन भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *