नेपालको अर्थतन्त्र पुरानै लयमा फर्किसक्यो : नेता कार्की

नेपाली कांग्रेसका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको अर्थतन्त्रले गति लिइसकेको बताएका छन् । प्रेस युनियन सङ्खुवासभाले आज खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्किसकेको दाबी गरे ।

विश्वभर कोरोनापछि तहसनहस भएको अर्थतन्त्र विस्तारै लयमा फर्किँदै गरेको भन्दै वर्तमान सत्तागठबन्धन सरकारले अर्थतन्त्र लयमा फर्काउन काम गरिरहेको नेता कार्कीको भनाइ थियो । अर्थतन्त्रका सूचक सकारात्मक भएकाले यसलाई गतिदिन साधन, स्रोत र सम्भावनालाई केन्द्रमा राखेर सरकारले अग्रसरता दिइरहेको उनले बताए ।

‘एमसीसी नेपाललाई प्राप्त भएको सहायता हो,’ नेता कार्कीले भने, ‘यो पाँच वर्षमा सम्पन्न गर्नुपर्दछ । विद्युत्को क्षेत्रमा एमसीसी कोसेढुङ्गा सावित हुनेछ ।’

व्यापार घाटालाई न्यूनीकरण गर्न र देशलाई समृद्ध गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । सङ्खुवासभामा निर्माणाधीन अरूण तेस्रो आयोजनाले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने बताउँदै उनले सबैभन्दा पहिला जिल्लावासीले लाभ लिनुपर्ने धारणा राखे ।

फरक प्रशङ्गमा कांग्रेस नेता कार्कीले राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरे । राष्ट्रियसभा निर्वाचनको सन्दर्भलाई लिएर नेता कार्की कार्यकर्तासँग भेटघाट गर्न कोशी प्रदेशका जिल्ला सोलुखम्बु, खोटाङ, भोजपुर हुँदै हिजो बेलुकी सङ्खुवासभा पुगेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर