उत्तरी राज्यमा राम मन्दिर प्राणप्रतिष्ठाको तयारी चलिरहँदा किन दक्षिण दौडाहामा थिए मोदी?

सिंगो देशकाे ध्यान उत्तर प्रदेश राज्यकाे अयोध्यामा निर्माणाधीन राम मन्दिर र यसकाे प्राणप्रतिष्ठामा केन्द्रित भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदी भने यहीबीच दक्षिणी राज्य दौडाहामा रहे।

प्रधानमन्त्री मोदीको दक्षिण दौडाहालाई कतिपयले संशयका साथ हेरे पनि यसको खास कारण छ। उनले यसबीच दक्षिणी पाँच राज्यका मन्दिरमा पूजा गरेका छन्।

प्रधानमन्त्री मोदीले दुई साताभित्र दुई पटक केरलाको भ्रमण गरिसकेका छन्। उनले आफ्नो केरला भ्रमणका क्रममा गुरूवायुर र त्रिप्रयार श्री रामास्वामी मन्दिरहरूमा र आन्ध्र प्रदेश भ्रमणका क्रममा लेपाक्षी मन्दिरमा पूजा गरे। पौराणिक चरा जटायुलाई रावणले आक्रमण गर्दा जटायु लेपाक्षी मन्दिरमा खसेको विश्वास गरिन्छ।

शनिवार प्रधानमन्त्री मोदीले भगवान् रामका पुर्खा मानिने श्री रंगनाथस्वामीको श्रीरंगम मन्दिरमा पूजा गरे। त्यसपछि धनुष्कोडीको श्री कोठन्द्रमा स्वामी मन्दिर र भगवान् रामको पदचिह्न र रामर पथम मन्दिरमा समर्पित रामनाथस्वामी मन्दिरमा पूजा गरे।

अरिचल मुनै गएर उनले बंगालको खाडी र हिन्द महासागर मिल्ने ठाउँमा डुबुल्की मारे, जहाँ रामसेतु निर्माण भएको पौराणिक मान्यता छ।

प्रधानमन्त्री मोदीले सोमवार अयोध्यामा निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठाअघि ११ दिन उपवास बसेका छन्।

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको तयारी चलिरहँदा मोदी दक्षिणी राज्य दौडाहा निस्कनुको प्रमुख कारणमध्ये एक उत्तरी राज्यभन्दा दक्षिणी राज्यमा रामलाई हेर्ने दृष्टिकोण फरक हुनु पनि हो।

दक्षिण भारतमा भगवान् रामप्रतिको कस्तो छ दृष्टिकोण?
प्रधानमन्त्री मोदीको यो अभियानका अन्य धेरै पक्षहरू पनि छन्। यीमध्ये सबैभन्दा महत्त्वपूर्ण भनेको उत्तरी राज्यहरूको तुलनामा दक्षिणी राज्यहरूमा भगवान् रामलाई फरक रूपमा हेरिनु पनि हो।

राजनीतिक विश्लेषक नागराज गली भन्छन्, ‘दक्षिणमा पनि रामलाई पूजनीय मानिन्छ भन्ने कुरामा कुनै शंका छैन तर उहाँलाई हेर्ने दृष्टिकोणमा फरक छ।भगवान् राम दक्षिणी राज्यहरूमा धर्मनिरपेक्ष छविका लागि परिचित हुनुहुन्छ।’

नागराज गोलकोंडाको कुतुब शाही वंशका अबुल हसन कुतुब शाह उर्फ ताना शाहको कथा सुनाउँछन्।

उनका एक राजस्व निरीक्षक भद्राचल रामदासुलाई भगवान् रामको मन्दिर निर्माण गर्न जनताबाट पैसा जम्मा गरेको आरोपमा १६६२ मा जेल हालिएको थियो।

केही वर्षपछि रामदासुलाई ताना शाहले जेलबाट रिहा गरेका थिए, किनभने भगवान् राम स्वयं ताना शाहको सपनामा आएर रामदाससुले आफू (भगवान् राम) प्रतिको आस्थाका कारण सार्वजनिक रूपमा पैसा जम्मा गरेको बताएका थिए।

यो सपना देखेपछि ताना शाहले तुरून्तै रामदासुलाई रिहा गरे र भद्राचलम राम मन्दिर निर्माणमा सहयोग गरे। -बीबीसी हिन्दीकाे सहयाेगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *