म्याग्दीका तीन गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक

म्याग्दीका तीनवटा गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्लाको बेनी नगरपालिका–३ मुसुङ, रघुगङ्गा गाउँपालिका–५ झीँ र मालिका गाउँपालिका–५ मगरदाङमा आयातित मदिरा, सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।

स्थानीय आमा समूहको अगुवाइमा मुसुङमा युवा समूह र गाउँले सहभागी गाउँ भेला गरी शनिवारदेखि गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाइएको स्थानीय पृथ्वी पुनले बताए । “गाउँमा आयातित मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको छ । अहिलेसम्म गाउँमा खुलारुपमा बिक्री हुँदै आएको थियो । अबका दिनहरूमा कसैले बिक्रीवितरण तथा सेवन गरेको पाइएमा जरिवानासहित कारबाही गर्ने निर्णय गरिएको छ”, पुनले भने ।

गाउँमा छरिएका मदिराका बोतल र सुर्तीजन्य पदार्थका खाली प्याकेटलाई जम्मा गरी व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए । आयातित मदिरा सेवनका कारण गाउँको पुँजी बाहिरिएको र युवा कुलतमा फस्दै जान थालेकाले आयातित मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरिएको स्थानीय देवी पुनले बताए ।

बेनी नगरपालिका–३ का वडाअध्यक्ष पदम पुनले आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा स्थानीयले गरेको निर्णय स्वागतयोग्य भएको बताए । विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने खतरा बढ्नाका साथै धनराशिसमेत मासिने गरेकामा आमा समूहको अगुवाइमा गरिएको यो निर्णयलाई आफूले पनि सघाउने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर