राम मन्दिर प्राणप्रतिष्ठाका लागि पूर्वप्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री साउदकाे मोदीलाई बधाई

नेपालका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरेकामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

देउवाले राम मन्दिरकाे प्राणप्रतिष्ठा सनातन धर्मका अनुयायीहरूका लागि गौरवको क्षण भएको भन्दै मोदीलाई बधाई दिएका हुन्।

अयोध्यामा राम मन्दिर पुनर्स्थापनाबारे नेपालका राजनीतिक दलबाट आएको यो पहिलो औपचारिक प्रतिक्रिया हो।

देउवाले मंगलवार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा भएकामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई। पवित्र प्राणप्रतिष्ठा समारोह सनातन धर्मका सबै अनुयायीहरूका लागि गौरवको क्षण हो। जय श्रीराम!’

यस्तै परराष्ट्रमन्त्री एनपी साउदले राम मन्दिरको प्राणप्रतिष्ठा सनातन धर्मका अनुयायीहरूका लागि गौरवको क्षण रहेको भन्दै खुसी व्यक्त गरेका छन्।

मर्यादा पुरूषोत्तम राम र नेपालकी छोरी सीता साहस, त्याग, न्याय र धार्मिकताका प्रतीक रहेको भन्दै उनले उनीहरूले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको संकेत गर्ने उल्लेख गरेका छन्।

मन्त्री साउदले सोमवार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जय श्रीराम! सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीद्वारा आज अयोध्या राम मन्दिरको उद्घाटन तथा पवित्र प्राणप्रतिष्ठा समारोह सनातन धर्मका सबै अनुयायीहरूको लागि गौरवको क्षण हो। मर्यादा पुरूषोत्तम श्रीराम र नेपालकी छोरी माता सीता साहस, त्याग, न्याय र धार्मिकताका प्रतीक हुनुहुन्थ्यो। उहाँहरूले हाम्रा दुई देश नेपाल र भारतबीचको गहिरो सांस्कृतिक र सभ्यताको सम्बन्धको संकेत गर्नुहुन्छ। उहाँहरूको सद्गुण र आदर्शले हामीलाई मानव सेवामा डोर्‍याओस्!’

सोमवार राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा नेपालमा पनि विभिन्न स्थानमा दीप प्रज्वलन गरेर खुसियाली मनाइएको थियो।

राम मन्दिर मंगलवार पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको छ। यससँगै मंगलवार बिहानैदेखि मन्दिरमा दर्शनार्थीको ठूलो भिड लागेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *