विश्वलाई शान्तिको सन्देश दिन कपिलवस्तुमा बुद्धको वंश संहारको कथा मूर्तिमा उतारियो

शान्तिका अग्रदुत भगवान् गौतमबुद्धको वंश विनाशको कथा मूर्तिमा उतारिएको छ ।

कपिलवस्तुमा रहेको बुद्धको वंश नाश भएको स्थान सरगहवामा आयोजना गरिएको मूर्तिकला कार्यशालामा देशभरबाट छानिएका मूर्तिकारहरूले गौतमबुद्धको वंश विनाशको कथालाई मूर्तिमा उतारेका हुन् ।

इसापूर्व चौथो शताब्दीमा भएको शाक्य वंश संहारको कथालाई मूर्तिमा उतार्दै बुद्धको जन्मभूमि नेपालबाट विश्वलाई शान्तिको विकल्प नभएको सन्देश दिने गरी मूर्तिहरू तयार गरिएको झापाका मूर्तिकार गंगाधर सारूले बताए ।

बुद्ध, शान्ति र युद्ध अथवा शाक्य राज्यको पतनको झल्को मूर्तिमार्फत दिएर द्वन्द्वले विश्वमा निम्त्याइरहेको नरसंहारलाई रोक्न पनि ती मूर्तिहरूले शान्तिको विकल्प नभएको सन्देश दिने उनको भनाइ थियो ।

रूपन्देहीबाट आएका अर्का मूर्तिकार गोविन्द चौधरीले मूर्तिको माध्यमबाट आफूहरूले बुद्धको शान्तिको सन्देशलाई विश्वभर फैलाउने काम गरेको बताए ।

उनले युवाहरूलाई मूर्तिकला सिक्न र त्यसबाट आफ्नो नाम र काम दुवै आर्जन गर्न पनि आह्वान गरे ।

गत पुस १३ गतेबाट सुरू भएको सो राष्ट्रिय मूर्तिकला कार्यशाला माघ ८ गते सम्पन्न भएको हो ।

कपिलवस्तुको सगरहवामा कौशल राज्यका राजा विरूढकले ७७ हजार शाक्यहरूको सामूहिक नरसंहार गरेका थिए ।

तिलौराकोटदेखि नजिकै रहेको क्षेत्रमा भएको घटना विभिन्न बौद्ध साहित्यमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *