भेपमा सुन तस्करी प्रकरण

उच्च अदालतले दिएन राहुल महरालाई थुनामुक्त गर्ने आदेश

विद्युतीय चुरोट भेपमार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणका अभियुक्त पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई उच्च अदालत पाटनले थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ। उनलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश भएको हो।

बिहीवार न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले उनी र अर्का अभियुक्त लोकेन्द्रकुमार पौडेललाई काठमाडौं जिल्ला अदालतले गरेको आदेश सदर गरेको हो।

काठमाडौं जिल्ला अदालतले गत असोज २६ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। पौडेललाई पुर्पक्षको लागि ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

आपराधिक विश्वासघात, संगठित अपराध कसुर र भन्सार चोरी पैठारीमा केन्द्रीय अनुसन्धान ब्युरोले यस कसुरमा चार जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

राहुल महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा गुरूङविरूद्ध मुद्दा दायर भएको थियो। निमा फरार छिन्। लोकेन्द्रकुमार सुन तस्करी प्रकरणमा प्रमुख व्यक्ति दाओजिन वाङका सवारी चालक हुन्। दावा ब्रेक शुमार्फत् ६० किलो ७१६ ग्राम सुन तस्करी गरेको प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्। दावालाई उच्चले उक्त कसुरमा पुर्पक्षका लागि थुनामुक्त गरेको छैन।

२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो।

८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रूपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरी पाँच जनाविरूद्ध मुद्दा चलाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *