विभिन्न स्थानमा सवारी दुर्घटनामा चार जना घाइते, सबैको उपचारका क्रममा मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

बाँके नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका-८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको र माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

त्यस्तै, सुर्खेत गुर्भाकोट नगरपालिका-७ मेहलकुनास्थित सडकमा भे.१ ह ४७०० नम्बरको अटो अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया भिमी कामीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको हो।

यस्तै, तनहुँ आँबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित सडकमा ग.१ क ५०१२ नम्बरको मिनि ट्रक र प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर आइतबार राति दुर्घटनाहुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखैरेनी अस्पतालहुँदै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो।

उता, कपिलवस्तु वाणगंगा नगरपालिका-७ मोतिपुरस्थित सडकमा लु.२ च ७३८७ नम्बरको बलेरो पिकअप अनियन्त्रित भएर आइतबार राति दुर्घटनाहुँदा चालक सोही नगरपालिका-४ गजेडा बस्ने ४५ वर्षीय रूदनाथ रौताहारको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर