१४ किलो सुन तस्करी प्रकरण : थप अनुसन्धानमा सीआईबी सुस्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी घटनामा थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुस्तता देखाएको छ । सरकारी वकिल कार्यालयले घटनाको थप अनुसन्धान गर्न आदेश गरे पनि भन्सारसँग पत्राचारको कारण देखाएर सिआइबी सुस्त देखिएको छ ।

तस्करीमा क्रिप्टो तथा हुन्डीको मात्र कारोबार नभई मानव तस्करीसमेत भएको हुँदा थप अनुसन्धान सिआइबीमार्फत गराउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत १६ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयलाई आदेश दिएको थियो । सोही आधारमा भन्सारले १८ पुसमा प्रतिवादीको नामावली र उपलब्ध दसी–प्रमाणसहित घटनाको अनुसन्धान गर्न सिआइबीलाई पत्र लेखेको थियो । पत्र अपूरो भन्दै सिआइबीले थप अनुसन्धान थालेको छैन ।

भन्सारले घटनासँग सम्बन्धित अनुसन्धान प्रतिवेदन उपलब्ध नगराएका कारण अनुसन्धान प्रक्रिया अघि बढ्न नसकेको सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले बताइन् । ‘घटना संगठित प्रकृतिको रहेको भन्दै अनुसन्धान गर्न भन्सारले हामीलाई पत्र पठाएको छ । केही दसी–प्रमाण पनि उपलब्ध गराएको छ । तर, अनुसन्धान भएको प्रतिवेदन भने उसले उपलब्ध गराएको छैन । त्यसो हुँदा अनुसन्धान प्रक्रिया अघि बढ्न नसकेको हो,’ उनले भनिन् ।

भन्सारका कार्यालय प्रमुख डा. टोकराज पाण्डेले भने घटनाको बाँकी अनुसन्धान गर्न सिआइबीलाई पत्र लेखिएको, तर प्रतिवेदन पेस नभ–नभएको सम्बन्धमा जानकारी नभएको बताए । ‘घटना संगठित प्रकृतिको देखियो । सरकारी वकिल कार्यालयले बाँकी अनुसन्धान सिआइबीलाई दिन भन्यो । हामीले सिआइबीलाई अनुसन्धान गर्न पत्र पठाइसकेका छौँ । अनुसन्धान प्रतिवेदन उपलब्ध गराएको–नगराएको सम्बन्धमा भने जानकारी भएन,’ उनले भने । याे समाचार आजकाे नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *