वैदेशिक रोजगारमा गएका ४ युवाको दैनिक मृत्यु

चारवर्षमा १३ हजार ७७ जना श्रमिककाे मृत्यु

सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् ।

बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्यु हुने गरेका छन् । तथ्याङ्क अनुसार औसतमा दैनिक पाँच वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।

बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको २०८०/८१ को पुस महिनासम्म १३ हजार ७७ जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीको ज्यान गुमाएका छन् ।

चालु आवको छ महिनामा तीन लाख ५० हजार वैदेशिक रोजगारीमा गएकामध्ये ६५६ नेपाली श्रमिकले ज्यान गुमाएका छन् । सो अवधिमा करिब सात खर्ब विप्रेषण भित्रिएको हिसाबमा देखिन्छ । बोर्डका अनुसार कोभिड–१९ सङ्क्रमणका कारण श्रम गन्तव्यमा नै मृत्यु भएका र सोही देशमा नै अन्त्येष्टिका लागि सहमति प्रदान गर्ने परिवारका सदस्यलाई बोर्डको निर्णय अनुसार प्रतिपरिवार थप ५० हजार सान्त्वना राहत सहयोग गरेको थियो । यसरी राहत सहयोगका लागि बोर्डले थप ४६ लाख रुपियाँ प्रदान गरेको बोर्डले जनाएको छ ।

राहत लिनेको सङ्ख्या वृद्धि

चालु आवको छ महिनामा वैदेशिक रोजगारीमा मृत्यु र अङ्गभङ्ग भएर आर्थिक सहायता लिने श्रमिकको सङ्ख्या गत वर्षको तुलनामा छ प्रतिशतले बढेको छ । बोर्डका अनुसार यस अवधिमा ३०७ जना अङ्गभङ्ग तथा बिरामी भएर स्वदेश फर्किएका थिए । गत आवको साउनदेखि पुससम्म ११५ श्रमिक अङ्गभङ्ग तथा बिरामी भएर फर्किएका थिए ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा। द्वारिका उप्रेतीले स्थानीय तह र विदेशस्थित नेपाली दूतावास वैदेशिक रोजगारीका क्रम हुने घाइते वा अङ्गभङ्ग भएकाले पाउने आर्थिक सहायताको जानकारी बढ्दै गएसँगै सहायता लिनेको सङ्ख्या पछिल्लो पटक बढेको बताउनुभयो । बोर्डका अनुसार चालु आवको छ महिनामा विभिन्न छ शीर्षकमा ५० करोड पाँच लाख ९८ हजार रुपियाँ कल्याणकारी कार्यमा खर्च गरेको छ । यसमध्ये सबैभन्दा बढी ३७ करोड पाँच लाख मृतक श्रमिकका परिवारलाई आर्थिक सहायता वितरण गरिएको छ ।

वैदेशिक रोजगार बोर्डले सार्वजानिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म रोजगारीकै क्रममा ६५६ नेपालीले मृत्युवरण गरेका थिए भने ३०७ जना अङ्गभङ्ग तथा बिरामी भएर स्वदेश फर्किएका थिए । गत आवको साउनदेखि पुससम्म ११५ श्रमिक अङ्गभङ्ग भएको थियो ।

मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता लिनेको सङ्ख्या वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्फत गरेसँगै सेवाग्राही सङ्ख्या बढेर सहयोग रकम पनि बढेको छ ।

बोर्डले सार्वजानिक गरेको आव २०७९/८० को प्रगति प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ४५ महिलासहित एक हजार २०८ नेपाली श्रमिकको मृत्यु भएको थियो । विगत तीन वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिने बढ्दै गएको बोर्डले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

मृत्युको कारण

वैदेशिक रोजगारीका क्रममा अधिकांशको मुत्युको कारण कार्यस्थलमा दुर्घटना र सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु र आत्महत्याको ठुलो सङ्ख्या छ । सीता शर्मा/गोरखापत्र दैनिक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *