स्कटल्यान्डमा आगलागीमा परी दुई नेपालीको मृत्यु

स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको आगलागीमा परेर मृत्यु भएको हो ।

छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका उनीहरु आत्तिँदै भुईंतलामा झर्दा धुंवाको मुस्लोले निस्सासिएर बेहोस भएका र पछि निधन भएको नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्डका अध्यक्ष डा. शिव तिवारीको भनाइ उधृत गर्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले जनाए ।

घटनास्थलमै निधन भएका दिदीबहिनी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक डा. यज्ञराज सुवेदीका छोरीहरू हुन् । नेपाल पोखरा घर भएका सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बस्दै आएको छ।

ज्यान गुमाएका माइली र कान्छी दिदीबहिनी, बाबुआमा र ठूली दिदी तीन बेग्लाबेग्लै फ्ल्याटमा बस्ने गरेको स्कटल्यान्डको सोसल सेक्युरिटी विभागमा कार्यरत कर्मचारी अनल गौतमले जनाए । ‘यज्ञजी आफू पनि पढ्ने र छोरीहरूको पनि सुन्दर भविष्यका लागि बेलायत आउनु भएको थियो । यस दुःखद् घटनाले आफ्ना सन्तानप्रति चिन्तित सुवेदी परिवारमा बज्रपात परेको छ’, यज्ञका निकट साथी गौतमले कान्तिपुरसँग भने ।

मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गर्ने तयारी छ । स्कटिस फायर एन्ड रेस्क्यु सर्भिसका क्षेत्रीय कमान्डर एन्ड्रयू राइटले भवन आगलागी भएपछि सात वटा दमकल र विशेषज्ञ टोली पठाइएको जनाएका छन् । सावधानीका रूपमा छिमेकीका घरहरु खाली गराइ केही समय सडक पनि बन्द गरिएको थियो । स्कटल्यान्ड प्रहरी प्रवक्ताले सोमबार साँझ लगभग ६ बजे प्रहरी अधिकृतहरूलाई आगलागीको खबर आएको जनाएका छन् । तत्काल आकस्मिक सेवाहरू घटनास्थल पुगे पनि दुई दिदीबहिनीलाई घटनास्थलमै मृत घोषित गरिएको जनाइएको छ । आगलागीमा उनीहरुको एउटा बिरालो पनि मरेको छ । एक बच्चालाई सावधानी अपनाउँदै अस्पताल लगिएको थियो । उनी अहिले अस्पतालबाट घर फर्किइसकेका छन् । त्यस्तै अन्य ५ जनालाई स्कटिस एम्बुलेन्स सर्भिसले उद्धार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर