बाँसबारी जग्गा प्रकरण

जग्गा फिर्ता गर्न तयार छु : अरुण चौधरी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उद्योगी अरुण चौधरीसँग बयान लिएको छ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा चौधरी अहिले सीआईबीको नियन्त्रणमा छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्डमा च्याम्पियन फुटवेयर स्थापना गरेको त्यहाँको १० रोपनी जग्गा च्याम्पियनकै नाममा ल्याएर चौधरी समूहले अहिले त्यहाँ चाँदबाग स्कुल सञ्चालन गरेको छ । अनुसन्धान अधिकृतहरूसँग चौधरीले आफू च्याम्पियन फुटवेयरको लगानीकर्ता भएको बताएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठको रोहबरमा अनुसन्धान अधिकृतहरूसँग अरुण चौधरीले जग्गा फिर्ता गर्न तयार रहेको बयान दिएका छन् । उनले भनेका छन्–‘हाम्रो लगानी अनुसार बाँसबारी छाला जुत्ता कारखानाले जग्गा दिएको थियो तर, सो जग्गा फिर्ता गर्न म तयार छु ।’
बाँसबारी छाला जुत्ता कारखानालाई २५ प्रतिशत शेयर दिने गरी चौधरी समूहले च्याम्पियन फुटवेयर स्थापना गरेको थियो । सम्झौता अनुसार बाँसबारी छाला जुत्ता कारखानाले च्याम्पियन फुटवेयरमा १२ लाख लगानी गर्नुपर्ने भएपनि २६ लाख लगानी गरेको सिआईबीका एसएसपी दिनेश आचार्यले बताए । बाँसबारी छाला जुत्ता कारखाना सञ्चालक समितिले च्याम्पियन फुटवेयरमा २५ प्रतिशत लगानी गर्ने सम्झौता गरेको थियो । सो बापत  १२ लाख ५० हजार लगानी गरे पुग्नेमा २६ लाख लगानी गरेको अनुसन्धानबाट थाहा भएको छ । सो रकम १० रोपनी जग्गाको मूल्य बराबर २५ लाख र नगद १ लाख गरी २६ लाख लगानी गरेको ब्युरोको अनुसन्धानबाट थाहा भएको छ ।

च्याम्पियन फुटवेयरको ५० लाख चुक्ता पुँजीमा २६ लाख लगानी गरेपश्चात् ५० प्रतिशत भन्दा बढी शेयर पाउनुपर्नेमा २५ प्रतिशत मात्रै सेयर लिने सम्झौता गरेर गलत मनसाय राखेको अनुसन्धान संलग्न अधिकृतहरू बताउँछन् ।

जग्गा हिनामिना गरेको अपरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *