बीआरआईलाई अनुदानमा परिणत गरियोस् भन्दै पोखरामा प्रदर्शन

चिनियाँ महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बीआरआई परियोजना मुलुकको लागि ऋणजाल भएको भन्दै पोखरामा प्रदर्शन गरिएको छ। राष्ट्रीय एकता अभियान पोखराले ऋणमुक्त र स्वाधिन पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको लागि सचेतना र्‍याली निकाल्दै प्रदर्शन गरेको छ।

अभियानका केन्द्रीय सदस्य ईश्वर लामाको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा पोखरा विमानस्थललाई ‘ऋणजालबाट मुक्त गर’,‘विमानस्थल पूर्णरुपले संचालन गर’,‘राष्ट्रिय स्वाधीनताको रक्षा गर’,‘बिआरआई ऋणलाई अनुदानमा परिणत गर’ जस्ता नारा लगाइएको अभियानले जनाएको छ।

पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको चिनियाँ ऋण अनुदानमा परिणत गरियोस् भन्दै निकालिएको र्‍याली पोखरासभा गृह अगाडिबाट सुरू भएर नगरपरिक्रमा गरेर पृथ्वीचोकमा पुगेपछि कोण सभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै प्रमुख अतिथि अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्यासित रुपमा बढेको चिनियाँ सक्रियताले मुलुकको राष्ट्रिय स्वाधिनता खतरामा परेको आरोप लगाए। संयोजक यादवले आर्थिक सहयोगको बहानामा देखिएको चीनको सक्रियता र सहयोग दुवै नेपाल र नेपाली जनताको भविष्य खतरामा डुब्दै गएको बताए।

उनले आउने समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि चीनले दिएको सहयोग नेपालको लागि ठूलो ऋणजाल सावित हुने ठोकुवा गरे। संयोजक यादवले पोखरा विमानस्थलमा देखिएको आर्थिक घाटापूर्तिको बहानामा चिनियाँ सेना पोखरामा ल्याउने ठूलो खेलभइरहेको आरोपसमेत लगाए।

नेपालको सार्वभौमसता माथि बढदै गएको खतराबाट समयमै सचेत हुन सबै नेतालाई आफूहरुले पटक पटक अनुरोध र आह्वान गर्दै आएपछि घैटोमा घाम नलाग्नु दु:खको कुरा भएको संयोजक यादवको भनाइ थियो।

कार्यक्रममा सहभागी अन्यवक्ताहरूले राष्ट्रिय स्वाधिनताको महत्व, मुलुकमा देखिएको आर्थिक तरलता र बीआरआई आर्थिक सहयोगभन्दा पनि मुलुकको लागि ठूलो ऋणजाल भएको कुरामा जोड दिएका थिए।

वक्ताहरूले पोखरा विमानस्थलको व्ययभारबाट भविष्यमा हुने ठूलो आर्थिक नोक्सानीबाट जोगीन अहिलेको मुख्य आवश्यकता रहेको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर