अध्यागमन विभागले शुरु गर्यो ई.भिसा र अनलाइन भुक्तानी सेवा

अध्यागमन विभागबाट हुने सबै सेवाहरु शुक्रवारदेखि ई.भिसा तथा अनलाइन भुक्तानीको प्रारम्भ भएको छ।

शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई.भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई.भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन्।

अध्यागमन विभागले शुक्रबारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ। अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरुमा पूर्ण रुपमा डिजिट र स्वचालित रुपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन्।

विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ। विभागले शुरु गरेको अनलाइन भुक्तानी सेवाको पहिलो सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोला हुनुभएको छ भने ई.भिसा एक विदेशी नागरिकलाई दिएर शुरुवात भएको छ। उक्त सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न,भिसाको म्याद थप गर्न,पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने,आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ।

अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिने बाहेक अन्य सेवाग्राही विभाग आउनुपर्ने छैन। सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिने भएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै गृहसचिव दिनेश भट्टराईले अध्यागमन लगायत अन्य गृहमन्त्रालय अन्तर्गत रहेका सेवाहरुलाई स्वचालित र अनलाइन सेवा दिने मिसनमा रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर