संसदीय समितिले अब ६ महिनाभित्र विधेयक सक्नुपर्ने व्यवस्था

संसदीय समितिले ६ महिनाभित्र विधेयकको छलफल टुंग्याउनुपर्ने गरी कानुन संशोधन हुँदै छ । सरकारले संविधानअनुकूलका नयाँ कानुन बनाउन ल्याएका विधेयक वर्षाैँसम्म संसदीय समितिमा गएर थन्किने गरेपछि कानुन संशोधनमार्फत ६ महिने समयसीमा तोकिएको हो ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले आफ्नो नियमावली संशोधन गर्दै समितिले विधेयकमाथि दफावार छलफल गरी ६ महिनाभित्र सक्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्रिय सभा नियमावली संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले अब समितिमा आइसकेका विधेयक ६ महिनाभित्र टुंग्याउनैपर्ने बताए ।

उनका अनुसार संशोधित नियमावलीको नियम १०९ (५) मा ‘सभामा उत्पत्ति भएको विधेयक नियम १०४ बमोजिम दफावार छलफलका लागि समितिमा प्राप्त भएमा दफावार छलफल समाप्त गरी सोको प्रतिवेदन बढीमा ६ महिनाभित्र सभामा पेस गर्नुपर्ने’ प्रावधान राखिएको छ ।

सभापति आलेमगरले समितिको प्रतिवेदन २२ माघमा राष्ट्रिय सभामा पेस गरिएको जानकारी दिँदै नियमावली संशोधन मस्यौदा आइतबार पारित हुने बताए । ‘सबै दलको सहमतिमा संशोधन मस्यौदा प्रतिवेदन तयार भएकाले सभामा दफावार छलफल गरेर सर्वसम्मत पारित हुन्छ,’ उनले भने । आइतबार १ बजे बस्ने बैठकको कार्यसूचीमा ‘राष्ट्रिय सभा नियमावली मस्यौदामाथि दफावार छलफल र पारित’ गर्ने विषय राखिएको छ ।

विधेयकको छलफलका लागि संसदीय समितिमा समय तोक्दा कानुनहरू समयमै बन्नमा मद्दत पुग्ने सभापति आलेमगरले बताए । ‘यो राष्ट्रिय सभाका लागि हो । तर, प्रतिनिधिसभाका लागि मार्गदर्शन हुनेछ, किनकि त्यहाँको समितिमा यो समस्या बढी छ,’ उनले भने । उनका अनुसार समितिले ६ महिनाभित्र विधेयक टुंग्याउनुपर्ने म्यान्डेटरी गरे पनि नगरेमा के हुने भन्ने नियमावलीमा उल्लेख छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर