अर्थ मन्त्रालयले आज बजेटको अर्धवार्षिक समीक्षा गर्दै

अर्थ मन्त्रालयले सोमबार बजेटको अर्धवार्षिक समीक्षा सार्र्वजनिक गर्ने भएको छ । चालू आर्थिक वर्षको आय–व्ययको नयाँ अनुमानसहित समीक्षा गर्न लागेको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिए । उनले भने, ‘प्रत्येक आर्थिक वर्षको ६ महिना बितेपछि अर्धवार्षिक समीक्षा गर्ने प्रचलनलाई निरन्तरता दिन खोजिएको हो ।’ गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पहिलोपटक संघीय संसद्मै पेस गरिएको थियो ।

त्यसो त संसद्मा यस्तो समीक्षा पेस गर्नुपर्ने बाध्यकारी व्यवस्था भने छैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम प्रत्येक आर्थिक वर्षको माघ मसान्तभित्र अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिसक्नुपर्ने हुन्छ । सोही आधारमा यो सार्वजनिक गर्ने म्याद सोमबार नै अन्तिम दिन रहेको प्रवक्ता शर्माको भनाइ छ । मन्त्रालयले सोमबार दिउँसो ३ बजेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अरू मन्त्रालयहरूले तयार गरेको आफ्नो मन्त्रालय र मातहतका कार्यालयको बजेट तथा कार्यक्रम मूल्यांकन प्रतिवेदन अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने मितिभन्दा कम्तीमा १५ दिनअगावै तयार गरी पठाउन उल्लेख छ । चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसका लागि १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख राजस्व उठाउने लक्ष्य राखिएको छ । ६ महिना बित्दा सरकारले ३२.३५% खर्च भएको छ भने ३४.९% राजस्व संकलन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *