नेपाली नक्कली नोटमा एनआईसी एशिया बैंकको ‘ट्याग’

करिब दुई करोड नेपाली नक्कली नोटमा एनआईसी एशिया बैंकको ट्याग फेला परेको छ।

प्रहरीले आइतबार बिहान बरामद गरेको करिब दुई करोड नेपाली नक्कली नोटमा एनआईसी एशिया बैंकको ट्याग फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले आज बिहान एकहजार दरका अठार हजार दुई सय एकाउन्न थान (एक करोड बयासी लाख एकाउन्न हजार रूपैयाँ ) बरामद गरेको हाे।

भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको हाे।

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो। नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको उनले बताए।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो। शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो।

बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ। प्रहरी स्रोतका अनुसार गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन्।

गाडीमा सवार अर्का व्यक्ति भने फरार छन्। गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ।

प्रहरी उपरीक्षक रेग्मीले रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर