पछिल्लो ६ महिनामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ जना पक्राउ

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ जना पक्राउ परेका छन्। ती मध्ये ६७ जना पुरूष र २२ जना महिला रहेको साथै ७९ मुद्दासमेत दर्ता भएका छन्।

मानव वेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध नियन्त्रण गर्न प्रहरीमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले विशिष्टिकृत इकाईको रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ।

पछिल्लो छ महिनामा प्रहरीले १ सय ४९ जनालाई अभियोग लागेको र देशभरबाट २ सय ३६ जनालाई उद्दार गरिएको दाबी छ। उद्दार गरिएकामध्ये १ सय ५० महिला, २६ पुरूष र ६० बालिका हुन्।

नेपाल आन्तरिक र सीमा वारिपारी समेतमा हुने मानव बेचबिखनबाट अति प्रभावित रहेको र त्यसमा पनि वैदेशिक रोजगारको लागि नेपालबाट ठूलो संख्यामा भारत, मलेसिया, कतार, साउदी अरेबिया, लिबिया, बहराईन, कुवेत, संयुक्त अरव ईमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशहरू लगायतका अन्य विभिन्न मुलुकहरूमा समेत नेपालीहरू काम गर्ने वा अवैधानिक बसोवासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेको बताइएको छ।

प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकाल भन्छन्, ‘मानव बेचबिखन मानवता विरुद्दको एउटा अत्यन्त संवेदनशील अपराध हो। प्रत्येक वर्ष बालबालिका तथा युवायुवती समेत संसारका विभिन्न देशहरूमा बेचबिखन भइरहने घटनाहरुबाट नेपाल पनि अछुतो रहन सकेको छैन। यही तथ्य र संवेदनशीलतालाई मनन गरेर नेपाल प्रहरीले यस्ता अपराधको अनुसन्धानलाई विशेष जोड दिएको छ। अनुसन्धानलाई अझै प्रभावकारी बनाउन विद्यमान मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा समय सापेक्ष परिमार्जनको आवश्यकता महसुस गर्दै परिमार्जनको लागि पहल भैरहेको पनि छ।’

२०७५ सालमा स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले हालसम्म जम्मा १ हजार ११८ जना पक्राउ गरेको छ। ती मध्ये ७ सय ८३ जना पुरूष र ३ सय ३५ जना महिला छन्। सो अवधिमा १ हजार ९ सय १९ जनालाई अभियोग लागेको छ। सोही अवधिमा जम्मा ८ सय ९२ मुद्दा दर्ता भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर