उपचारपछि मृत्यु प्रकरण : नक्कली डाक्टरसहित तीनजना ११ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङले बिरामीको ज्यान लिने नक्कली डाक्टरलाई कर्तव्य ज्यान मुद्दामा ११ वर्षपछि पक्राउ गरेको छ।

हलेसी पोलिक्लिनिक दिक्तेलमा उपचारका क्रममा २०६९ फागुन १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको मृत्यु भएको थियो। यसपछि मृतकको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका-३ का जीवानन्द मेहतालाई पक्राउ गरिएको हो।

मेहताले पाँच मिनेटको अन्तरमा दुई वटा सुई लगाएदिएपछि राईको मृत्यु भएको भन्दै मृतककी आफन्त देवीसरा राईले २०६९ चैत १४ गते मेहता विरुद्ध किटानी जाहेरी दिएकी थिइन्। मेहतालाई गत माघ २४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

छानबिनका क्रममा उपचारमा संलग्न डाक्टर मेहताले नक्कली प्रमाणपत्र पेश गरेर पोलिक्लिनिकमा काम गर्दै आएको खुलेको थियो। त्यसबेला आयुर्वेदमा एचए उत्तीर्ण मेहताले चीनबाट एमबीबीएस गरेको नक्कली प्रमाणपत्र पेश गरेर उपचार गरिरहेको खुलासा भएको थियो। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले सोही दिनदेखि महीना दिनसम्म पोलिक्लिनिक बन्द गराएका थिए।

जिल्ला प्रशासन कार्यालयको रोहबरमा बसेको सर्वपक्षीय बैठकमा दुवै पक्षबीच मृतकको उपचारमा संलग्न मेहतालाई कारबाही गर्ने, पोलिक्लिनिकका सेवासुविधा पारदर्शी ढंगले सञ्चालन गर्ने, एमबीबीएस डाक्टर राखेर मात्र पोलिक्लिनिक सञ्चालन गर्ने, सार्वजनिक सूचना आह्वान गरेर मात्र कर्मचारी छनोट गर्ने लगायत सहमति भएपछि २०७९ चैत २९ गतेदेखि पोलिक्लिनिक खुलाइएको थियो।

पछि नक्कली डाक्टरले उपचार गर्दा बिरामीको मृत्यु भएको हल्ला फैलिएपछि बिरामी जान छाडेकाले उक्त पोलिक्लिनिक स्वतः बन्द भएको थियो।

प्रहरीले सोही पोलिक्लिनिकमा आबद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका-५ का महेशप्रसाद साह र बोदेबरसाईन नगरपालिका-२ का अशोककुमार साहलाई पनि अनुसन्धानका लागि माघ २८ गते पक्राउ गरेको छ। पक्राउ परेका तीनै जना विरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर