प्रत्यक्ष निर्वाचित पार्टी कमिटीको व्यवस्था गर्नुपर्ने माओवादी नेताहरूको सुझाव

नेकपा(माओवादी केन्द्र)का नेताहरुले पार्टी कमिटी प्रत्यक्ष निर्वाचित हुनुपर्ने र पदाधिकारीहरुलाई प्रत्याह्वान गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

बुधबार १३ वटा समूहले समूहगत छलफलको प्रतिवेदन बैठकमा पेश गरेका थिए। समूहगत छलफलको निचोड बैठक समक्ष प्रश्तुत गर्दै नेताहरुलाई पार्टी कमिटी प्रत्यक्ष निर्वाचित हुनुपर्नेमा जोड दिएका हुन्।

त्यस्तै पार्टीका पदाधिकारीहरुलाई ‘प्रत्याह्वान’ गर्ने व्यवस्था गर्नुपर्नेमा पनि नेताहरुको जोड छ। बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरुले पार्टीको विधान उल्लंघन हुँदैन भन्ने कुराको ग्यारेन्टी नेतृत्वले गर्नुपर्ने धारणा राखेका जानकारी दिए।

पार्टीको केन्द्रीय कमिटी १५१ जनाको बनाउन अधिकांशको सुझाव रहेको पनि उनले बताए। विधानलाई संक्षिप्त बनाउँदै नियमावली व्याख्यात्मक बनाउनुपर्ने सुझाव पनि नेताहरुले दिएका छन्। त्यस्तै, पदाधिकारी र स्थायी कमिटीमध्ये एउटा कमिटी मात्रै राख्नुपर्ने नेताहरुले सुझाव राखेका उनले बताए।

प्रवक्ता सापकोटाले भने,‘सर्वाधिक जोड दिइएको विषय, सबै ग्रुपले भनेको विषय चाहीँ के भने विधान उल्लंघन हुन्न भन्नेकुरा नेतृत्वले ग्यारेन्टी गर्नुपर्छ भन्ने नम्बर एक छ। अर्को, पार्टी चुस्त, दुरुस्त बनाउनुपर्छ भन्नेकुरामा अधिकांश १५१ जनाको केन्द्रीय समिति ठिक छ। यसमा घटीबढी गर्नुहुँदैन। पछि फेरि फेरबदल गर्नुहुँदैन भन्ने छ। विधान संक्षिप्त बनाउनुपर्छ। नियमावलीलाई चाहीँ मूर्त र ठोस बनाउन सकिन्छ। नियमावली व्याख्यात्मक भए हुन्छ। विधान चुस्त, दुरुस्त र सटिक हुनुपर्छ भन्ने सबैको छ । प्रत्यक्ष निर्वाचनमै जानुपर्छ भन्ने कुरा नै अधिकांशको सुझाव छ। पदाधिकारी र स्थायी समितिको हकमा धेरैजसोको पदाधिकारी राखे स्थायी समिति नराखे हुन्छ। स्थायी समिति राख्नेभए पदाधिकारी नराखेहुन्छ भन्नेकुरा जोड दिएर राख्नुभएको छ। पदाधिकारीहरुलाई प्रत्याह्वान गर्ने व्यवस्था राख्ने भन्नुभएको छ। डिजिटल प्रणालीमा जानुपर्छ भन्ने कुरामा विशेष रुपमा जोड दिइएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर