सेनाकारुपमा अन्य देशमा काम गर्न नेपालीलाई सुहाउँदैन्ः प्रधानसेनापति

रुस र युक्रेनबीच चलिरहेको युद्धमा संयौं नेपालीहरु भर्ना भएको तथ्य बाहिरिएपछि प्रधानसेनापति प्रभुराम शर्माले आर्थिक प्रलोभनमा परेर अरु देशको सैनिकमा भर्ना हुन नजान आग्रह गरेका छन् । उनले भूपू सेना भनेको नेपाली सेनाको प्रतिनिधि पात्र भएकाले उसले उच्च अनुशासन कायम राख्नुपर्ने सुझाव दिँदै अन्य देशमा सेनाकारुपमा काम गर्न जानु नेपालीका लागि सुहाउँदो विषय नभएको उल्लेख गरे ।

सेवामा रहँदा प्राप्त गरेका ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर र समाजको उत्थानमा लगाउन सुझाव दिँदै उनले स्वदेशमै सम्भावनाको खोजी गरी सुखमय जीवनका लागि काम गर्न सुझाव दिए । उनले भने, ‘नेपालमै परिश्रम गरेर मातृभूमिप्रतिको ऋण चुकाउनुहोस्, राजीनामा दिएर विदेश पलायन नहुनुस् ।’

नेपाली सेनाद्वारा आयोजित पूर्वी पृतना मुख्यालय तथा मातहतका बाहिनी र गणमा यस वर्षको ‘भूपू सैनिक सम्मेलन’ मा सम्बोधनगर्दै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।

‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने नारासहित यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनको प्रधानसेनापति प्रभुराम शर्माले बिहीवार उद्घाटन गरेका थिए ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले नेपाली सेना साझा शक्ति र सम्पत्ति हो भन्ने भावना जागृत तुल्याउने गरी काम गर्न भूपू सैनिकलाई सुझाव दिए । प्रमुख अधिकृत तण्डुलले सम्मेलन र सैनिक कल्याणकारी कोषबाट भूपू सैनिकका लागि सञ्चालन भइरहेको विभिन्न सेवा र सुविधाबारे जानकारी गराएका थिए।

सो अवसरमा कोशी प्रदेशका ज्येष्ठ भूपू गङ्गाबहादुर कटुवाल र भीमकुमारी खत्रीलाई ज्येष्ठ सम्मान प्रदान गरियो । कोशी प्रदेशमा यस वर्षको ‘भूपू सैनिक सम्मेलन’ पूर्वीपृतना इटहरी, नम्बर २ हिले, नम्बर १८ गाईघाट, नम्बर २१ बाहिनी चारआली तथा पाँचथरको रणशेर गण र ओखलढुङ्गाको दुर्गा बक्स गणमा आयोजना गरिएको थियो ।

सम्मेलनका क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयतदरमा उपलब्ध गराइएको रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान गरियो ।

भूपू सैनिकको जोसिलो मार्चपास, जिल्लागत सांस्कृतिक झाँकी र सैनिक ब्याण्ड प्रदर्शनका साथै ज्येष्ठ सैनिक तथा चारभन्दा बढी सन्तति सेनामा हुनेका मातापितालाई सम्मान र अन्तरक्रिया कार्यक्रम भयो ।

सम्मेलनमा प्रस्तुत मौलिक भेषभूषासहितको गीत, सङ्गीतसहितको नृत्य र झाँकीले यस क्षेत्रको भाषा, संस्कृति र रहनको संरक्षण, सम्वद्र्धन र उजागर गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

पुराना पल्टनियाबीचको भेटघाट र विचारको आदानप्रदानले बहालवाला र भूपूबीचका सम्बन्ध प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको सम्मेलनमा सहभागीलाई टोपी, सल, ट्र्याकसुट, स्वीटरसहितको झोला र आतेजाते दैनिक भ्रमणभत्तासमेत उपलब्ध गराउने सैनिक परम्परा छ ।

प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने अभ्यास छ । सेनाले यसै वर्ष भरतपुर र काठमाडाँैलाई मुख्य केन्द्र मानी मातहत विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ गर्दैछ ।
प्रधानसेनापति शर्माले नेतृत्व सम्हालेपछि दुई वर्षअघि दिपायलबाट सुरु भएको ‘भूतपूर्व सैनिक सम्मेलन’ अघिल्लो वर्ष बुटवल, दाङ, पोखरा, खैरेनीटार, सिन्धुली र बर्दिवासमा भएको थियो । चितवनको भतपुरस्थित नयाँ सबुज गण र नुवाकोटको त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा आगामी फागुन ११ गते पनि यसखाले सम्मेलन हुँदैछ ।

विसं २०७० असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यस कार्यले निरन्तरता पाउँदै आएको छ । मुलुकमा हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८७ हजार दुई छ भने पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १६ हजार दुई सय ११ भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य र शिक्षालगायत सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या १० लाखभन्दा बढी छ ।

सैनिक कल्याणकारी कोषमा लगानी रहेकोसमेत गरी हाल रु ८२ अर्ब ६६ करोड १२ लाख सम्पत्ति रहेको सो अवसरमा जानकारी दिइयो । सेना भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ । सम्मेलन जीवनको महत्वपूर्ण समय सेनामा बिताएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर हो ।

यस्ता सम्मेलनले सेनाको सङ्गठन, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा र विश्वास वृद्धि गर्न ठूलो सहयोग पुग्ने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउछन् ।

देश र संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्न तथा भूपूले राष्ट्रसेवामा गरेको योगदानको कदर गर्ने अवसरका रूपमा हुँदै आएको सम्मेलन भूपू सैनिकको सर्वपक्षीय सम्मुन्नति र प्रगतिमा केन्द्रित छ । सम्मेलनका क्रममा हुने छलफल र अन्तरक्रियाले भइरहेका प्रयासको मूल्याङ्कन र सङ्गठनलाई योजना तर्जुमामासमेत महत्वपूर्ण सुझाव प्राप्त हुने सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर