अवैध उत्खनन आरोपमा चिनियाँ कम्पनीका दुईसहित पाँच जनाविरुद्ध मुद्दा

डिभिजन वन कार्यालय सिरहाले अवैध उत्खनन गरेको भन्दै दुई चिनियाँ नागरिकसहित ५ जनाविरुद्ध आइतबार जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ ।

कमला–कञ्चनपुर सडक स्तरोन्नति गर्ने ठेक्का पाएको चाइना रेल्वे नं. २ इञ्जिनियरिङ ग्रुपका दुई चिनियाँ नागरिक, नगरपालिकाका इन्जिनियर र दुईजना एक्साभेटर चालकविरुद्ध अवैध उत्खननको मुद्दा दायर गरेको हो ।

चाइना रेल्वे नं. २ इञ्जिनियरिङ ग्रुप कम्पनीका साइट इञ्चार्ज हु सिवकिङ्, जिल्ला परियोजना इञ्चार्ज झाङ् बाओझोङ्, लहान नगरपालिकाका इन्जिनियर एकमणि सिपलिया तथा एक्साभेटर चालकद्वय सप्तरीको सुरुङ््गा नगरपालिका– १ का अजय चौधरी र सिरहाको कर्जन्हा नगरपालिका–२ का विन्देश्वरकुमार महतोविरुद्ध मुद्दा दायर गरेको डिभिजन वन प्रमुख सुजितकुमार झाले बताए ।

लहान नगरपालिका– १५ स्थितको चुरे वन क्षेत्रमा पर्ने खुट्टी खोलामा अवैध उत्खनन गरेको आरोप उनीहरुमाथि छ । चालकद्वय चौधरी र महतो अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा गत १४ मंसिरमा पक्राउ परेका थिए । चुरे वन क्षेत्रको खोलामा अवैध उत्खनन लगाएको आरोपमा चिनियाँ नागरिकविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

अवैध उत्खननसम्बन्धी कागजात सदर गर्ने लहान नगरकी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमको हकमा भने जिल्ला अदालत सिरहाबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५० तथा जिल्ला अदालत नियमावली २०७५ को नियम ३२ बमोजिम दरपिठ गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर