कांग्रेस महासमिति बैठक

गठबन्धनको बचाउमा सभापति देउवा

सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको कांग्रेस महासमितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको आवश्यकतामा जोड दिएका छन् । बैठकलाई सम्बोधन गर्दै उनले माओवादीलगायत दलसँग कांग्रेस गठबन्धन तत्काल परिस्थितिको आधारमा बनेको बताएका हुन् ।

सभापति देउवाले अहिले मुलुकमा गठबन्धनको अभ्यास भइरहेको बताउँदै सरकार निर्माणका लागि मात्रै गठबन्धन बनेको नभई केही समय पहिले प्रतिनिधिसभालाई विघटन गर्ने मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र संविधानलाई जोखिममा पार्ने गतिविधिकाविरुद्ध एकाकार भएर मुलुकलाई सम्बृद्धिको दिशामा अगाडि बढाउन खोजिएको उल्लेख गरे ।

‘वर्तमान गठबन्धन हामी समेतको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ,’ देउवाले भने, आगामी दिनमा तीनै तहमा नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी संगठनलाई सुदृढ बनाउने काममा लागौं । यसका लागि म पार्टीका सबै साथीहरुलाई अुनशासित, एकतावद्ध र क्रियाशिल भई पार्टी संगठन सुदृढ गर्ने काममा लाग्न आह्वान गर्दछु ।’

सभापति देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीेले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्ने बताए ।

कांग्रेसमा चुनावअघि गठबन्धन गर्न नहुने भन्दै एक पक्षका नेताले आवाज उठाउँदै आएका छन् । महामन्त्री गगन थापाले यही महासमिति बैठकबाट अबदेखि कांग्रेसले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने नीति तय गर्नुपर्ने उल्लेख गर्दै प्रस्ताव नै अघि ल्याएका छन् ।

सभापति देउवाले १४औँ महाधिवेशनमा समय अभावका कारण नीतिगत विषयमा दस्तावेज प्रस्तुत गरी छलफल गर्न नपाइएको भन्दै यस महासमिति बैठकले पार्टीका नीतिगत विषयमा छलफल गरी बैठकमा प्राप्त सुझावलाई समेटेर दस्तावेज तयार गर्ने बताए ।

‘कांग्रेसले देशमा लोकतन्त्र स्थापना पुनःस्थापना र संरक्षणका लागि लामो संघर्ष गरेको इतिहास छ, मुलुकमा जहिले संघट पर्छ, त्यतिबेला काङ्ग्रेसले नेतृत्व गरेर समाधान दिएको छ, लोकतान्त्रिक मूल्य मान्यतासँग कहिल्यै सम्झौता नगर्ने दृढताका कारणले नै यो पार्टी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन सफल भएको हो,’ उनले भने ।

पूर्वप्रधानमन्त्री देउवाले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको भन्दै यो शासकीयस्वरुप नेपाली कांग्रेसको मान्यताअनुकुल रहेको स्पष्ट पारे । उनले संविधानको रक्षा र सार्थक कार्यान्वयन गर्नु आजको मुख्य एजेण्डा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर