राप्रपाका सांसद तथा पूर्वमन्त्री यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठ बिक्रीमा हिनामिना गरेको अभियोगमा राप्रपाका सांसदसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकीप्रसाद यादव, तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजन वन अधिकृत दुर्गाबहादुर कार्की, कार्यान्वयन इकाईका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रह्मदेव महतो, रेञ्जर हेमराज पण्डितविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियारले तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु, सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत, फरेष्टरहरु रामरक्षा कुर्मी (चौधरी), रमतु चौधरी, वन रक्षकहरु सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया, तत्कालिन संयोजक जानकी प्रसाद यादव, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठदाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गिता जीसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुमाथि पाँच वर्षअघि गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुको काठ कटान गिरी बिक्री गर्दा भ्रष्टाचार गरेको आरोप लगाएको हो । काठ लुकाएर कम परिणामको मात्रै देखाएको भन्दै परेको उजुरीमाथि छानबिन हुँदा भ्रष्टाचार फेला परेको भनाइ छ ।

आर्थिक वर्ष २०७४/७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरुको ३५ हजार ७७८ क्युफिट काठ र ४९.२३ क्युफिट दाउरा निस्कनु पर्नेमा लुकाई त्यसभन्दा कम परिणाम मात्रै बिक्री गरी भ्रष्टाचार गरेको आयोगको दाबी छ ।

यादव कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका हुन् । रुख कटान गरी मिलमेतामा गोरखा मनकामना काष्ठ फर्निचर उद्यागे काठमाडौंमा बिक्रि गरी भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ । १९ जना मिलेर २९ लाख १२ हजार १९३ रुपैयाँ बिगो काम गरी मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *