रथी थापाले लगाए दर्ज्यानी चिन्ह, बालाध्यक्ष नियुक्त

देश बाहिर मिशन फोर्स कमाण्डर रहेका उपरथी निर्मलकुमार थापाले मंगलबार दर्ज्यानी चिन्ह लगाएका छन् । उनलाई प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच रथीकाे दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रथीमा पदोन्नती भएका थापा बालाध्यक्षमा नियुक्त भएका छन् । रथी थापा संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल (अनडोफ) मिशनमा हेड अफ मिशन तथा फोर्स कमाण्डरको रुपमा कार्यरत छन् ।

नेपाल सरकार, मन्त्रीपरिषद्को २५ माघको निर्णयले उनी रथीमा बढुवा भएका हुन् ।

२०२४ आश्विन २५ गते ललितपुरमा जन्मिएका रथी थापाले ३ फागुन २०४३ नेपाली सेनाको अधिकृत क्याडेटका रुपमा सैनिक सेवा प्रवेश गरेका हुन् । उनी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।

रथी थापाले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बाहिनीपति र पृतनापतिका साथै पिएसओज् सचिव, सैनिक सचिव, युद्धकार्य विभागको विभागीय प्रमुख, सैनिक इन्टेलिजेन्स महानिर्देशक एवं राष्ट्रिय सुरक्षा परिषद्को सह–संयोजकको जिम्मेवारीको अनुभाव राख्दछन् ।

अमेरिका, मलेसिया र रसियामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका रथी थापाले बङ्गलादेशबाट एनडीसी तालिम गरेका छन् । यस्तै, युगोस्लाभिया, इथियोपिया र इरिट्रिया, लेवनान तथा कंगोमा शान्ति सेनामा सहभागी भएका थिए ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर