सात करोड खर्चेको उपकरण ब्यूरोमै थन्कियाे, प्रविधि अभावले स्वयम्भू घटनामा ‘थकथक’ मानिरहेको प्रहरी

प्रहरीले नागार्जुन नगरपालिका अन्तरगत सितापाइला र स्वयम्भु क्षेत्रको एउटा घरमा तीनजना मृत फेला पारेपछि सोही घरमा बस्ने मुख्य ब्यक्तिको खोजी सुरु भयो । घटनास्थलमा तत्काल स्वयम्भु वृत्तले घेराबन्दी गरेर छरछिमेकसँग सोधपुछ गर्न थाल्यो ।

त्यतिबेलासम्म उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौर र एसपी रविन्द्र रेग्मी तथा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्री घटनास्थलमा पुगे ।

वृत्तले छरछिमेक आफन्तसँगको सोधपुछमा मृतक तीनैजनाको सनाखत गर्यो । उनीहरु ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया नाताले नातिनीपर्ने शिवानी श्रेष्ठ भएको खुल्यो । साथै श्रीमान राजु घिमिरे भनिने काजी बिक त्यहाँ थिएनन् । प्रहरीले उनको खोजी तिब्र बनाइरहेका समय उनका आफ्न्तले एउटा डरलाग्दो विषयको खुलासा गरे ।

‘उनले आफन्तलाई आफुले तीनैजनाको हत्या गरेको र आफुपनि आत्महत्यागर्न जान थालेको बताएका रहेछन,’ अनुसन्धानमा संलग्न एकजना वरिष्ठ अधिकारीले पर्दाफाससँग भने, ‘हामीले तत्काल मोबाइलको लोकेशन त लियौं तर जंगलमा उनी कता छन् भनेर खोज्न समय लाग्यो।’

प्रहरीका लागि घटनाका मुख्य आरोपी मानिएका र घटनाका विषयमा धेरै विषय खुलाउन सक्ने उनै भएकाले परिसर, वृत्त र कार्यालयका प्रहरीले मिहेनतका साथ उनको खोजी गरिरहेका थिए । तर, प्रहरीले खोजी गरिरहेका समय उनी झुण्डिएको अवस्थामा मृत फेला परे ।
‘हामीसँग सीम लोकेटर भएको भए हामी उनलाई जीवित्तै उद्धार गर्न सक्थ्यो,’ घटनाको अनुसन्धान गरिरहेका एक अधिकारीले पर्दाफाससँग गंभिर भएर भने, ‘खरिद गरिएको उपकरण समेत काम नलाग्ने अवस्थामा थन्किएको छ ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले करिब सात करोड रुपैयाँ खर्च गरेर खरिद गरेको सीम लोकेटर थन्किएको तीनवर्ष भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमार्फत खरिद गरिएको उक्त उपकरणका लागि करिब सात करोड खर्च भएको हो । मेसिन ब्युरोमा २०७७ मै आइसकेको हो ।

ब्यूरोका तत्कालीन प्रमुख एआईजी सहकुलबहादुर थापा (तत्कालीन डीआइजी) को कार्यकालमा स्विडेन सीम लोकेटर ल्याइएको हो ।

ठेकेदार कम्पनी नियोटेरिक नेपाल प्रालिले उक्त मेसिन ल्याएको हो । यो कम्पनी गोल्छा समूहको भगिनी संस्था हो, जसका सञ्चालक एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाका भाइ सञ्जय गोल्छा हुन् ।

स्रोतका अनुसार एआईजी थापाले कमिशनको लोभ र एकजना निकट व्यक्तिको सम्बन्धका कारण गोल्छा समूहको नियोटेरिक नेपालमार्फत खरिद गरेको उपकरण अहिले ‘कवाडी’ सरह बनेको छ ।

ब्यूरोमा थापा अघिका प्रमुख एआईजी निरजबहादुर शाहीले दुई पटकसम्म लगाउन नसकेको ठेक्का एआईजी थापाले आफू आएपछि सञ्जय गोल्छा सञ्चालक रहेको कम्पनीलाई दिएका थिए । यसका लागि पूर्वयोजना अनुसार नेपाल टेलिकमले स्पेसिफिकेशन बनाउने काम गरेको थियो ।

आम नागरिकको समेत मोबाइलमार्फत निगरानी गर्नसक्ने उपकरण खरिदअघि सञ्चार मन्त्रालय र गृह मन्त्रालयले सहमति जनाएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीकालमा अति शक्तिशाली रहेका एआईजी थापाले आफू निकट व्यक्तिले भनेकै भरमा त्यसका विविध पाटोको अध्ययन नै नगरी ठेक्का दिएकाले समस्या आएको ब्यूरोकै अधिकारीले त्यसबेला पर्दाफासलाई बताएका थिए ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट उपकरण खरिदका लागि प्राप्त साढे नौ करोढ रुपैयाँ अर्पयाप्त हुने ब्यूरोका प्राविधिकहरुको सल्लाह नमान्दै एआईजी थापाले यसअघि यसप्रकारको काम नै नगरेको नियोटेरिकलाई ठेक्का दिने निर्णय गराएका थिए ।

ठेक्का अनुसार ठेकेदार कम्पनीले उपकरणको जडान, सञ्चालन र प्राविधिक तालिम समेतको सम्झौता भएको थियो । तर, कोभिड–१९ महामारीका कारण नियमित समयभन्दा धेरै ढिलोगरी उपकरण प्राप्त भएको थियो ।

सीम लोकेटर नेपालमै पहिलो पटक खरिद गरिएको हो । यसले अनुसन्धान र शंकास्पदलाई पक्राउ गर्न सहज हुने भएकाले प्रहरीको महत्वपूर्ण प्रोजेक्ट पनि हो । तर पहिलो पटकको खरिदमा नै नेपाल प्रहरीलाई ठेस लागेको छ ।

के हो सीम लोकेटर ?

विशिष्ट प्रकृतिका घटनाको अनुसन्धान गर्ने ब्यूरोका लागि सीम लोकेटर आवश्यक उपकरणमध्येकै एक हो ।

प्रहरीको अपराध अनुसन्धानको मुख्य हतियार मोबाइल हो । मोबाइलकै माध्यमबाट यो उपकरणले काम गर्छ । यो प्रविधि जडान भएपछि अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सहज हुनेछ ।

यो उपकरणको माध्यमले शंकास्पद व्यक्तिलाई पाँच मिटरको दूरीसम्मको संकेत पत्ता लाउन सक्छ । कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुपरेमा सो क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनीको बिटिएस टावरका आधारमा सम्बन्धित व्यक्ति रहेको स्थान पहिचान गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *