प्रमाणमुखी अनुसन्धान कार्यलाई प्रभावकारी बनाउँदै डिजिटल फोरेन्सिक ल्याव

नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्याव प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग पुर्याउन प्रभावकारी माध्यम सावित भएको छ ।

डिजिटल फोरेन्सिक कम्प्युटर विज्ञानको एउटा शाखा हो । ल्यावले कम्प्युटर, डिजिटल उपकरण, डिजिटल स्टोरेज मिडिया वा डिजिटल कम्प्युटिङ इक्युपमेन्टमा स्टोर हुने डाटालाई अदालत वा न्यायिक प्रकृयामा मान्य हुने तवरले पहिचान गरी डाटाको आवश्यक विश्लेषण पश्चात आएको नतिजालाई रिपोर्टिङ गर्ने काम गर्दछ । स्थापनादेखि हालसम्म ल्यावले जम्मा ४ हजार ५५३ वटा मुद्दाका जम्मा २१ हजार ४१५ वटा सवुद परीक्षण सम्पन्न गरेको छ ।

सो अवधिमा ५ हजार ११३ वटा मुद्दाका २४ हजार ४२५ वटा सबुद परीक्षणका लागि ल्यावमा दर्ता भएका थिए । ती मध्ये ५६० मुद्दाका ३ हजार १० सवुद परीक्षणको क्रममा रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा मात्रै ४४० वटा मुद्दाका २ हजार १ सय ६२ वटा सवुद परीक्षण सम्पन्न भएका छन् । सो अवधिमा ७५८ वटा मुद्दाका ३ हजार ९१३ वटा सबुद परीक्षणका लागि ल्यावमा दर्ता भएका थिए । ती मध्ये ५६० मुद्दाका ३ हजार १० सवुद परीक्षणको क्रममा रहेका छन् । ल्याव परीक्षण कार्यलाई प्रभावकारी बनाउन डिजिटल प्रमाणहरू तथा डिजिटल फोरेन्सिक विषयमा तालिम प्रदान गर्ने गरिएको छ ।

अपराध अनुसन्धानकर्ताहरूमा डिजिटल प्रमाणहरू सम्वन्धि क्षमता अभिबृद्धि गर्ने प्रयास गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन्, ‘प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग गर्ने र सहजता ल्याउने भूमिका ल्यावको रहन्छ । आजकल अपराधीले समेत कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको देखिन्छ । त्यसैले प्रहरीले पनि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी उच्चतम प्रयोग गर्न थालेको हो । यसले घटनामा भेटिएका प्रमाण वा वस्तुको परीक्षण र विश्लेषण गरी अपराधी पत्ता लगाउन सहज भएको छ । परीक्षणले साइबर अपराधको अनुसन्धानमा समेत सहयोग पुर्याएको छ ।’

दक्ष जनशक्ति र साधनस्रोतको प्रयोगबाट प्राप्त हुने सवुदले अदालतलाई मुद्धाको अन्तिम किनारा लगाउन सहजता ल्याउने अपेक्षा गरिएको प्रहरी नायव महानिरीक्षक ढकालको भनाई छ । नेपालमा अपराध अनुसन्धानको क्रममा संकलित वैज्ञानिक प्रमाणहरू संरक्षण, उत्खनन् र विश्लेषण गर्न डिजिटल फोरेन्सिक ल्याव स्थापना भई क्रियाशील रहेको छ ।

ल्यावका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार मण्डल भन्छन्, ‘हाल ल्यावबाट कम्प्युटर, मोबाइल, सोसियल मिडिया, मल्टिमिडिया, मालवयेर, मेमोरी, ड्रोन, जिपिएस र आईओटी डिभाइस लगायतका फोरेन्सिक परीक्षण र विश्लेषण गरी सम्बन्धित निकायलाई रिपोर्ट प्रदान गर्ने गरिएको छ ।’ अबको अपराध अनुसन्धान परम्परागत भन्दा फरक हुनुपर्छ । अपराधको प्रकृति र प्रवृत्तिमा डिजिटल प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक छ । हाल अदालत, संवैधानिक आयोग, नेपाल सरकारबाट गठित समितिहरू, नेपाल प्रहरी, नेपाली सेना, राजश्व अनुसन्धान विभाग, सम्पत्ती सुद्धिकरण विभाग, वन कार्यालय समेत फरेन्सिक सेवा प्राप्त गरिरहेका छन् ।

प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, ‘विश्वव्यापीकरण र विज्ञान प्रविधिको विकासले अपराधमा आएको नयाँ प्रवृत्तिसँग जुध्न सक्ने गरी सेवा विस्तार गर्दैछौं । ल्याव सेवालाई प्रदेशस्तरमा विस्तार गर्ने लक्ष्य नेपाल प्रहरीको छ ।’

विसं २०७२ मंसिर २० गते ल्यावको स्थापना भएको हो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत रहेर ल्यावले काम गर्दै आएको छ । नेपाल प्रहरी संगठनमा अपराध अनुसन्धानको नविन आवश्यकता अनुरूपको प्रमाणमुखी वैज्ञानिक अनुसन्धान कार्यलाई स्थापित गराउने ल्यावको उद्देश्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *